अन्य

अनागरिक हुँ, कुनै प्रश्नको जवाफ छैन भन्दै सिंहदरबारबाट निस्किए रवि

काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै एकाएक उपप्रधान एवं गृहमन्त्री गुमाएका रवि लामिछाने ‘अनागरिक हुँ, कुनै प्रश्नको जवाफ छैन’ भन्दै सिंहदरबारबाट निस्किएका छन् ।

यद्यपि, लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्ने बताए । तर अरू कुनै प्रश्नको जवाफ आफूसँग नभएको उनको भनाइ थियो ।

सर्वोच्चले सांसद पद खारेज भएको फैसला सुनाउँदा गृह मन्त्रालयमै रहेका लामिछाने मन्त्रालयबाट बाहिरिने क्रममा भने, ‘अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु ।’

अब के गर्नुहुन्छ भन्ने प्रश्नमा रविले भने, ‘म अनागरिक छु । कुनै प्रश्नको जवाफ मसँग छैन ।’

नागरिकतासम्वन्धी मुद्दामा दोषी ठहर गर्ने सर्वोच्च अदालतको फैसलासँगै उपप्रधान एवं गृह मन्त्रीको पद गुमाएका लामिछाने मन्त्रालयबाट निजी गाडीमा घरतर्फ लागेका छन् ।