झापा । मेमोरी किङ अर्पण शर्मालाई गृहजिल्ला झापामा सम्मान गरिएको छ । आज एक कार्यक्रमका बिच स्मरण शक्तिमा गिनिज बुकमा नाम लेखाउन सफल विश्व कीर्तिमानी झापा भद्रपुर ८ निवासी शर्मालाई नगदसहित सम्मान गरिएको हो ।

लाल भागिरथा बानियाँ प्रतिष्ठान झापाको आयोजनामा आज आयोजित कार्यक्रमका बिच मेमोरी किङ शर्मालाई नगद ३१ हजारसहित सम्मान पत्रले सम्मान गरिएको छ ।

प्रत्येक बर्ष बिभिन्न विधाका उत्कृष्ठ प्रतिभालाई छनोट गरी सम्मान गर्दै आएको लाल भागिरथा बानियाँ प्रतिष्ठानले यस बर्ष मेमोरी किङ शर्मासंगै अन्य दुई जनालाई पनि सम्मान गरेको छ । सम्मानित हुनेहरुमा मेचीनगर–१२ निवासी कृषि क्षेत्रका प्रेरक व्यक्तित्व मञ्जुल मेचे र मेचीनगर–११ की असल गृहिणी दुर्गादेवी काफ्ले रहेकी छिन् । उनीहरुले पनि जनहि नगद ३१ हजार र सम्मानपत्र प्राप्त गरे ।

सम्मानित हुने तीनै जनालाई कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, पूर्व बागमती प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाई, लाल भागिरथा बानियाँ प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँ, मेचीनगर ११ का वडाध्यक्ष रुद्र डाँगीलगायतले सम्मान गरेका थिए ।

पुरस्कारका लागि प्रतिष्ठानको नाममा १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरि सामाजिक क्षेत्रका प्रेरक व्यक्तिहरुलाई कदर गर्न प्रतिष्ठानले विगत चार वर्षदेखि यस्तो सम्मान दिँदै आएको छ ।

लाल–भागिरथा बानियाँ प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष मनोज बानियाँले र सञ्चालन सचिव डम्बरबहादुर देउजाले गरेका थिए ।

