झापा । झापाको भद्रपुरमा जारी “प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप” को आज हुने दोस्रो क्वार्टरफाइनल खेलमा चर्च ब्वाइज र गत वर्षको लिग विजेता मछिन्द्र क्लबबीच प्रतिष्पर्धा हुँदैछ ।
मेची रंगशालामा हुने प्रतियोगितामा चर्च ब्वाइज र मछिन्द्र क्लबबीच सेमिफाइनल प्रवेशका लागि आज दिनको २ः३० बजे खेल हुने आयोजकले जनाएको छ । चर्च ब्वाइज पहिलो प्रि–क्वार्टरफाइनल खेलमा सोमबार नेपाल पुलीसलाई पराजित गर्दै क्वार्टरफाइनल पुगेको हो भने मछिन्द्र क्लब बाई पाएर सिधै क्वाटरफाइनल प्रवेश गरेको हो ।
त्यस्तै मंगलबार भएको प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा आयोजक भद्रपुर ब्लेजर्सलाई १–० गोल अन्तरले हराउँदै संकटा क्लब सेमीफाइनलमा प्रवेश गरिसकेको छ । ‘
फागुन १६ गतेसम्म सञ्चालन हुने गोल्डकपमा तीन विदेशीसहित १० टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।
प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजक समितिका महासचिव जिवन कुमार श्रेष्ठले जानकारी दिए ।

