झापा । ‘बौद्धिक ज्ञान आदान प्रदान र पुस्तान्तरणको लागि’ भन्ने नाराका साथ झापामा याक्थुङ ज्ञान महोत्सव २०७९ आयोजना हुने भएको छ ।
याक्थुङ युवा मञ्च केन्द्रीय समितिले आगामी फागुन १९ र २० गते शिवसताक्षी नगरपालिका(८, स्थित झिलझिलेमा महोत्सव आयोजना गर्न लागेको याक्थुङ युवा मञ्चका अध्यक्ष प्रज्ञा इजमले जानकारी दिइन् ।
दोस्रो याक्थुङ ज्ञान महोत्सव २०७९ महोत्सवको तयारीलाई अहिले तिब्र पारिएको याक्थुङ युवा मञ्च केन्द्रीय समिति उपाध्यक्ष तथा आर्थिक विभागिय संयोजक राजेन्द्र इधिङ्गोले जानकारी दिए ।
महोत्सवमा उच्च शिक्षामा लिम्बू समुदाय, याक्थुङ संस्कृति र सौंन्दर्य, लिम्बू महिलाको सहभागिता, मुन्धुम मन्थन, याक्थुङ गीतसंगीत र चलचित्र, याक्थुङ भााषा, लिपि, लिम्बुवान आन्दोलन, याक्थुङ लाजे र इतिहास, याक्थुङ मुन्धुम र जीवनदर्शनलगायतको विषयमा वक्ताहरुको प्रस्तुति रहनुका साथै लिम्बुवान आन्दोलनबारे प्यानल डिस्कसन हुने आयोजकले जनाएको छ ।
समाजको विविध पक्षको ज्ञानहरु युवा पुस्तामा पुस्तान्तरण गर्न प्रयास र अभ्यास गर्नु, साझा विषयमा छलफल, बहस प्रस्तुती र दस्तावेशीकरण गर्नु, विश्वव्यापी रूपमा रहेको लिम्बू समाज बारे साधन, स्रोत, ज्ञान, सूचना र अनुभवहरु आदान(प्रदान गर्दै युवा पुस्तालाई प्रोत्साहित गर्ने प्रयत्न गर्नु, सामाजिक, जार्थिक, राजनीतिक विषयवस्तुमा समिक्षा, वैचारिक सत्यन गर्ने र युवा पुस्तामा जागरण सिर्जना गर्नु महोत्सवको उद्देश्य रहेको छ ।
महोत्सव वाटर किङ्डम एण्ड रिसोर्टमा विहान १० देखि बेलुका ५ बजेसम्म संचालन हुनेछ ।

