स्वास्थ्य

संसदमा कुशल अम्पायरको भूमिका निर्वाह गर्छु : सभामुख घिमिरे

झापा । सभामुख देवराज घिमिरेले स्वास्थ्यको क्षेत्रमा राज्यले आम नागरिकको सहज पहुच पुर्याउन प्रभावकारी ढंगले कार्य सम्पादन गर्नुपर्ने बताएका छन् ।

शनिबार गृह जिल्ला झापा स्थित विर्तामोड नगर अस्पतालको उद्घाटन गर्दै सभामुख घिमिरेले पछिल्लो समय विभिन्न बहानामा निजी अस्पतालहरुले नागरिकलाई चर्को रकम असुल्ने गरेको बताउँदै उनले राज्य तवरबाट नै सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्नेमा जोड दिए ।

आर्थिक अभावका कारण सबै नागरिकले निजी अस्पताल जान नसक्दा स्वास्थ्य उपचारबाट बन्चित हुने परिरहेको अवस्थामा स्थानीय स्तरमा सुविधा सम्पन्न नगर अस्पताल सञ्चालनमा आउँदा गरिब तथा विपन्न समुदायलगायत आम नागरिकले सहज रुपमा यसको सेवा उपभोग गर्न पाउने बताए ।

साथै उनले सभामुखको रुपमा आफु रहिरहदा संसद सञ्चालन गर्न कुशल अम्पायरको भूमिका निर्वाह गर्न लागि परेको बताए ।
बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले अस्पतालको बारेमा जानकारी गराउँदै देशभरमै उत्कृष्ट र गुणस्तरीय सेवा प्रदान गर्ने बताएकी छन् । उनले अस्पतालबाट दिइने सेवाहरुका बारेमा समेत जानकारी दिएकी थिइन् ।

नगर प्रमुख प्रसाईले नगर अस्पताल आम नागरिकको साझा सम्पत्ति रहेको बताइन् । उनले अस्पताललाई राम्रो बनाउन सके मात्रै सेवा पनि पाइने धारणा राखिन् । धेरै मेहनतका साथ अस्पताल निर्माण सकिएको छ, उनले भनिन्, ‘हामीले यसैबाट पर्याप्त स्वास्थ्य सेवा लिन सक्छौं । यसको संरक्षणमा सबैले हातेमालो गरौं ।’

सबै वर्ग समूहले ठुला निजी अस्पतालहरुमा उपचार गर्न नसक्ने भन्दै उनले सबैका लागि नगर अस्पताल सञ्चालनमा ल्याइएको जानकारी दिइन् ।

सोही अवसरमा अस्पताललाई विभिन्न स्वास्थ्य उपकरण, डाइलोसिस मेसिन, फर्निचर, विधुतीय सामग्री सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको छ ।

अस्पताल उद्घाटन समारोहमा बोल्दै संविधानसभा सदस्य सुधिर शिवाकोटीले सामान्य उपचारका लागि पनि प्राइभेट अस्पताल जान बाध्य नागरिकहरुलाई रोक्नुपर्ने बताए । उनले सरकारी अस्पतालले प्रभावकारी रुपमा स्वास्थ्य सेवा प्रदान गरे बाध्यतामा रहेका नागरिकहरु रोकिने उनको धारणा थियो । स्वास्थ्य र शिक्षा धेरै महंगो भइसक्यो, शिवाकोटीले भने – सरकारी अस्पताल र विद्यालयहरुबाट गुणस्तरीय सेवा पाएर गरिव, विपन्न नागरिकहरु समेत लामान्वित हुने छन् ।

यस्तै, कोसी प्रदेशका सांसद एकराज कार्कीले विरामी भएर आउनेहरुको विश्वास जित्नुपर्ने बताए । विरामीले गुणस्तरीय सेवा पाए विश्वास बढ्नेछ, उनले थपे – विश्वास बढ्नासाथ निजी अस्पतालमा जानेहरु यहाँ उपचारका लागि आउनेछन् । सांसद कार्कीले नगर अस्पतालमा पाइने स्वास्थ्य सेवा लिन पनि बाहिर जानुपर्ने अवस्था नबन्ने गरी काम गर्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेसका नगर सभापति भोजराज सिटौलाले राजनीतिक दलहरुको तर्फबाट अस्पताल सञ्चालनमा पर्याप्त सहयोग हुने प्रतिवद्धता जनाएका छन् । उनले आम नागरिकले चाहे जस्तो स्वास्थ्य सेवा अस्पतालबाट प्रदान हुनुपर्ने बताए । विरामीको स्वास्थ्य प्रति स्वास्थ्यकर्मी संवेदनशील र गम्भीर बन्न सके अस्पताल सफल हुने नेता सिटौलाको धारणा थियो ।

कार्यक्रममा नेकपा एमाले बिर्तामोडका अध्यक्ष एवम् सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराई, रोटरी क्लव बिर्तामोडको तर्फबाट शुभ कुमाई पाठक लगायतले शुभकामना मन्तव्य राखेका थिए । रोटरियन पाठकले सामाजिक सेवा अन्तर्गत अस्पताललाई थप सहयोगको घोषणा गरेकी छन् । उनले नगर अस्पताललाई रोटरीको तर्फबाट भेन्टिलेटरसहितको एम्बुलेन्स सहयोगको घोषणा गरिन् ।

नगर अस्पतालमा एक जना एमडीजीपी, ३ जना एमवीवीएस डाक्टर सहितले सेवा दिने छन् । अस्पतालमा विभिन्न जिम्मेवारीका ३६ जना कर्मचारी कार्यरत छन् ।

बिर्तामोडका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले अस्पतालबाट गर्भवती जाँच सेवा, परिवार नियोजन सेवा, पाठेघरको मुखको क्यान्सर जाँच, निशुल्क सुरक्षित गर्भपत सेवा, बच्चाहरुमा हुने कुपोषण जाँच तथा व्यवस्थापन, नेपाल सरकारबाट तोकिएका ९८ प्रकारका औषधिको निशुल्क वितरण, नसर्ने रोगको जाँच तथा नेपाल सरकारद्वारा तोकिएका औषधि वितरण, किटजन्य कोभिडको निशुल्क जाँच, खोप कार्यक्रम, निरोगिता प्रमाणपत्र दिने सेवा सञ्चालनमा रहेको जानकारी दिए ।

नगर अस्पतालमा स्वास्थ्य बीमा पूर्ण रुपमा लागु भइसकेको छ भने दैनिक ओपीडीसहितको उपचार तथा परामर्श सेवा सुरु गरिएको छ । अस्पतालमा प्रयोगशाला सेवा समेत सञ्चालनमा आइसकेको छ । भिडियो एक्स–रे, एक्स–रे, इसीजी, २४ घण्टे इमरजेन्सी सेवा, २४ घण्टे सुरक्षित प्रसुती सेवा र ६ वटा डाइलोसिस मेसिनसहितको सेवा सञ्चालनको अन्तिम तयारीमा रहेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए ।