मेचीनगर । मेचीनगरको काँकरभिट्टामा भइरहेको तेस्रो संस्करणको इन्डो–नेपाल भेट्रान्स फुटबल टुर्नामेन्टको उपाधिका लागि आज बिर्तामोड युनाइटेड भेट्रान्स फुटबल क्लब र फ्रिडम फाइटर युथ क्लब काठमाडौँ प्रतिस्पर्धा गर्दैछन् ।
मोफसल लगायत काठमाडौँमा समेत च्याम्पियन बनिसकेको बिर्तामोड काँकरभिट्टामा पनि काठमाडौँलाई हराउँदै उपाधि रक्षा गर्ने योजनामा छ । काठमाडौँ भने स्थानीय टोलीलाई पराजित गर्दै उपाधि लैजाने लक्ष्यका साथ मैदान उत्रिँदैछ ।
काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगिताको फाइनल खेलमा आज दिउँसो ३ बजेबाट सुरु हुने सहआयोजक काँकरभिट्टा भेट्रान्स फुटबल क्लबले जनाएको छ । यसअघि बिर्तामोडले सौभाग्य युवा फुटबल क्लब बुटवललाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । फ्रिडम फाइटरले सेमिफाइनल मिलामोड त्रिवेणी संघ सिलिगुडी भारततलाई हराउँदै उपाधि नजिक पुगेको थियो ।
प्रतियोगिताको विजेतालाई नगद २ लाख तथा उपविजेतालाई नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका महासचिव शेरबहादुर बस्नेत (सुन्दर)ले बताए ।
प्रतियोगितामा नेपालका झापा, मोरङ, सुनसरी, बुटवल र काठमाडौँका गरी ६ टिम तथा भारतका सिलिगुडी, असाम, कलकत्ता र दार्जिलिङका चार टिमसहित १० टिमको सहभागिता रहेको थियो ।

