झापा । चैत्र शुक्ल पूर्णिमा। चैत्र शुक्ल प्रतिपदामा संवत्सर आरम्भ हुने भएकोले यसलाई वर्षको पहिलो पूर्णिमा मानिन्छ। यो दिन हनुमान जयन्ती मनाइन्छ। पवन र अञ्जनीपुत्र हनुमान भगवान रामका बाहनको रूपमा परिचित छन्। चैत्र शुक्ल पूर्णिमाका अवसरमा विभिन्न तीर्थस्थलमा मेला तथा जात्रा लाग्छ।
बालाजुमा २२ धारा मेला
विशेषगरी बालाजुको २२ धारामा मेला लाग्छ। यो दिन २२ धारामा स्नान गर्नाले चर्मरोगबाट मुक्त भई दीर्घजीवन प्राप्त हुने तथा पारिवारिक सुख, शान्ति एवं समृद्धि कायम हुने विश्वास छ। यो दिनलाई नेवार समुदायले ल्हुतिपुन्हिको रूपमा मनाउँछ।
स्वयम्भूमा जात्रा
बौद्ध समुदायको दुईदिने तेमाल जात्रा पनि यसै दिन सम्पन्न हुन्छ। पूर्णिमाको अघिल्लो दिन बुधबार बौद्धको जात्रामा सहभागी भएकाहरू बिहीबार बिहानै बालाजुको बाइस धारामा स्नान गरी स्वयम्भू पुग्ने क्रममा छन्। काठमाडौं आसपासका जिल्लाका तामाङ समुदायले यो दिन स्वयम्भू पुगेर दिवंगत आफन्तजनको नाममा बत्ती बाल्ने र लामा गुरुहरुद्वारा पूजापाठ गराउने गर्छन्।

