झापा । नेपालको लोपोन्मुख मेचे जातीले यस बर्षको बैशागु बथर पर्व धुमधामका साथ मनाएका छन् । आज झापाको हल्दिबारी ४ स्थित दिपेन्द्र प्राविमा बिशेष कार्यक्रमको आयोजना गर्दै मेचे समुदायले यस बर्षको बैशागु बथर पर्व मनाएको हो । उक्त कार्यक्रमको उद्घाटन संघिय सांसद एलपी सावाँ लिम्बुले गरेका थिए ।

नेपालको ७७ जिल्ला मध्ये झापामा मात्रै बसोबास रहेको मेचे समुदायले प्रत्येक बर्ष बैशाख ३ गते मनाउँदै आएका बैशागु बथर पर्व यसपालि पनि हसोल्लासका साथ मनाएका हुन् ।
नेपालको जनगणना २०७८ अनुसार मेचे जातीको जनसंख्या चार हजार ८ सय ३५ जना रहेको छ । बिशेषगरी झापाको मेचीनगरमा, भद्रपुर, विर्तामोड, हल्दिबारी, अर्जुनधारा र दमकलगायतका स्थानीय तहमा बसोबास गर्ने मेचे समुदायले बैशागु बथर पर्वलाई राष्ट्रिय पवको रुपमा मनाउँदै आएका छन् । आजको बिशेष कार्यक्रममा हल्दिबारी गाँउपालिका अध्यक्ष रविन्द्र लिङ्गदेन, मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेती, जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र प्रसाद रिजाल, विभिन्न संघसंस्थाका पधाद्धिकारी, राजनीतिक दलका प्रतिनिधि, मेचे समुदायका अग्रजलगायतको आतिथ्यता रहेको थियो ।

मेचे जातीको आफ्नै छुट्टै कला सँस्कृति, भेष भुषा, भाषा र रहनसहन छ । लोपोन्मुख जाती मेचे समुदायको पहिचानको रुपमा रहेको बैशागु बथर पर्वलाई मेचे समुदायले निरन्तरर्ता दिँदै यसपालि पनि हर्साेल्लासका साथ मनाईएको मेचे महिला उत्थान संघको पुर्व केन्द्रिय अध्यक्ष रोश्नी मेचे बताउँछिन् ।
पछिल्लो समय युवा पुस्तामा आफ्नो कला संस्कृति र धर्म सम्बन्धि ज्ञानको अभाव हुँदा मेचे समुदायको पहिचान लोप हुँदै गइरहेको छ । त्यसलाई संरक्षण र प्रवद्र्धन गर्न पनि आफुहरुले बैशागु बथर पर्व मनाउँदै आएको मेचे समाज शिवियारी आफात केन्द्रीय समिति उपाध्यक्ष सन्तोष मेचे बताउँछन् । यस पर्व सबै उमेर समुहका मानिसहरुले मनाउने भएकाले सस्कार पुस्तान्तरण गर्न पनि बिशेष महत्व रहेको उनको भनाई छ ।

मेचे समुदायको बैशागु बथर पर्व मनाउन झापाको मात्रै नभएर भारतको आसामबाट समेत मेचे समुदायका मानिसहरु झापा आउने गरेका छन् ।
मेचे समाज शिवियारी आफात केन्द्रीय समिति अध्यक्ष रन्जित मेचेको सभापतित्वमा सम्पन्न मेचे जातीको राष्ट्रिय पर्व बैशागु बथर पर्वको बिशेष कार्यक्रममा स्वागत उपाध्यक्ष सन्तोष मेचे र सञ्चालन महासचिव विरेन मेचेले गरेका थिए ।

