मेचीनगर । ‘मेरो अगाडि सँधै खुनको खोलो बग्छ, मलाई बली नचढाउ, सबै मेरा सन्तान हुन्, यो क्रम नरोकिए अब म यहाँ बस्न सक्दिन’ । झापाको मेचीनगर–७ जोरसिमल स्थित आचार्य निवासमा एक जना माता यसो भन्दै कामेर फलाक्न थालेपछि उपस्थित धेरैको ध्यान त्यस तर्फ केन्द्रित भयो ।

भगवतीको थान अगाडि क्रोध मुद्रामा देखिएकी ती माताले पाथीभरा मन्दिरमा बली दिनेक्रम तत्काल नरोकिए ठूलो अनिष्ट हुने उद्घोष गरिन् । म काली हुँ देवी हुँ, मलाई खुनको भोग नदेउ, ‘सबै मेरा सन्तान हुँन म आफ्नो सन्तानलाई बली दिएको हेर्न सक्दिन ।’
एक वर्ष अघिबाट माता उत्रिएकी मेचीनगर –७ जोरसिमल जनजागृती टोल निवासी माता गीता आचार्यले पाथीभरा मातालाई बली दिने क्रम नरोकिए अबको पाँच वर्षमा देशमा ठूलै दुर्घटना हुने दावी गरेकी हुन् । ‘चेतनाको कमिका कारण मानिसहरु भगवतीलाई बली चढाइरहेका छन्, उनले भनिन् , ‘माताले आफ्ना सन्तानको खुन कसरी पिउन सक्नु हुन्छ, भगवतीलाई त पहेलो पूmल र फल चढाए पुग्छ ।’
‘बाल्यकालमै मलाई माताको शक्ति आएको रहेछ, उनले भनिन्, ‘सुरुमा अन्य विमार होला भनेर बुबा आमाले बिभिन्न ठाउँमा उपचार गराउन लानु भयो तर ठिक हुन सकेन, शरिरमा माता आउने लक्षण रहेछ एक वर्ष अघि भगवतीले दर्शन दिएर भन्नु भयो, ‘तिम्रो शरिरमा म आएको छु मन्दिर स्थापना गरेर पूजागर ।’ भगवतीको दर्शन पाएपछि आफूले मन्दिर स्थापना गरेर पूजा आरधना गर्न थालेको र आफू र परिवारलाई समेत राम्रो भएको उनले बताइन् ।
माताको मन्दिर बनाएपछि बिभिन्न ठाउँबाट भगवतीको दर्शन गर्न र भविश्य हेराउन भक्तजनहरु आउँने गरेको र सबैलाई भगवती प्रति विश्वास बढ्दै गएको उनको भनाइ छ । स्थानीय गणेश खतिवडाले माताको शक्तिमा धेरै विश्वास रहेको बताए । ‘मेरो धरमा लामो समयदेखि पितृले दुःख दिएका रहेछन्, ‘९० वर्ष अघिदेखिका सबै कुरा फरर आयो माताले झारफुक गरिदिएपछि अहिले कुनै समस्या छैन ।’
देशका विभिन्न ठाउँबाट मानिसहरु माताकोमा आफ्नो भविष्य हेराउन र झारफुककोलागि आउने गरेको उनको भनाइ छ । माताकोमा आउँदा सुद्ध भएर दुई दिनदेखि माछा मासु, लसुन,प्याज नखाइकन आउन उनले सुझाव दिए । ‘माछा, मासु, लसुन,प्याज खाएर आउँदा माताले थापाउनु हुन्छ उनले भने, ‘त्यसपछि जोखाना पनि आउँदैन माता आक्रोशित बन्नु हुन्छ ।’ उनले तामसी बस्तु खाएका मानिसलाई छोएर समेत माताको दर्शनमा नआउन सुझाव दिए ।
माता गीताका पति राजेन्द्र आचार्यले श्रीमतीलाई माता उत्रिएपछि घरमा सबै खाने समस्या हटेर गएको बताए । उनको दुई छोरा रहेका छन् ।

