खेलकुद

जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता : तारापुञ्ज र बालकल्याण विजयी

मेचीनगर । झापाको मेचीनगरमा जारी २१ औं झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिताको आज भएको खेलमा छात्रातर्फ तारापुञ्ज अंग्रेजी मावि र छात्रतर्फ बालकल्याण मावि विजयी भएका छन् ।

मिलन क्रिकेट क्लबको आयोजनामा तुर्केनी खेलमैदानमा आज भएको पहिलो खेलमा छात्रातर्फ धुलाबारी माविलाई ६ रनले पराजित गर्दै तारापुञ्ज अंग्रेजी मावि विजयी भएको छ । धुलाबारीले टस जितेर फिल्डिङ रोजेको थियो । ब्याटिङको निम्तो पाएकाे तारापुञ्जले १० ओभरमा ५७ रन बनायो । ५८ रनको लक्ष्य लिएर मैदान उत्रिएको धुलाबारी ४६ रनमा समेटियो । खेलको प्लेयर अफ द म्याच ४ विकेट लिँदै ३ रन जोड्न सफल विजेता टिमकी दावा शेर्पा घोषित भइन् ।

त्यस्तै आज नै भएको छात्र तर्फको खेलमा बालकल्याण माविले धुलाबारी माविलाई १० विकेटले पराजित गरेको छ । बालकल्याण माविले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको लागि मैदान छिरेको धुलाबारी माविले १५ ओभरमा ४१ रन मात्रै बनायो । ४२ रनको कमजोर तार्केट लिएर ब्याटिङमा उत्रेको बालकल्याणले २.२ओभरमा लक्ष्य भेटायो । खेलको प्लेयर अफ द म्याच ३ विकेट लिदैं टिमलाई विजयी बनाउन सफल पवन दर्जी घोषित भए ।

प्रतियोगितामा भोलिको पहिलो खेल छात्रातर्फ एमएटी पब्लिक स्कुल र गंगा मेमोरियल स्कुल बिच हुनेछ भने दोस्रो खेल छात्रतर्फ एमएटी पब्लिक स्कुल र अरूणोदय आवसिय मावि बिच हुने आयोजक मिलन क्रिकेट क्लबका अध्यक्ष बिरु श्रेष्ठले जानकारी दिए ।

फागुन १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता तथा उपबिजेताले क्रमश नगद २० हजार र १० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।