संघ \संस्था

मेचीनगर : न्यायिक समितिको तीन दिने अध्यायन अवलोकन भ्रमण सम्पन्न

मेचीनगर । झापाको मेचीनगर नगरपालिका न्यायिक समितिको तीन दिने अध्यायन अवलोकन भ्रमण सम्पन्न भएको छ । बुधबारबाट सुरु भएको कोशी प्रदेश अन्तर्गतका विभिन्न पालिकाहरुसंगको मेचीनगर न्यायिक समितिको अध्यायन अवलोकन भ्रमण शुक्रबार सम्पन्न भएको हो ।

न्याय सम्पादनमा उल्लेख्य भूमिका खेल्दै आएको मेचीनगर न्यायिक समितिले अझ उत्कृष्ठ न्याय सम्पादनका लागि केकस्ता उपाय तथा प्रक्रियाहरु अवलम्बन गर्न सकिन्छ भनेर अन्य पालिकाहरुको अध्यायन अवलोकन भ्रमणमा गएको मेचीनगर न्यायिक समिति सदस्य कुन्दन निरौलाले बताए । उनले अन्य पालिकाले के कस्ता प्रक्रियाहरु अवलम्बन गरिरहेका छन् त्यस बिषयमा जानकारी लिन नगरका सबै मेल मिलाप कर्ताहरुलाई भ्रमणमा लगिएको बताए ।

मेचीनगरको न्यायिक समितिको टोलिले इटहरी उपमहानगरपालिका, धनकुटा नगरपालिका, खाँदबारी नगरपालिका र बराहक्षेत्र नगरपालिकाको न्यायिक समितिसंग न्याय सम्पादन सम्बन्धमा अन्तरक्रिया गरिएको मेचीनगर न्यायिक समिति सदस्य हरिनारायण न्यौपानेले बताए । उनका अनुसार मेचीनगरको टोलिलाई सबै नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, सामाजिक विकास शाखा प्रमुख, लेखा शाखा प्रमुख र न्यायिक शाखा अधिकृतलगायतका कर्मचारी तथा स्थानीय जनप्रतिनिधिहरुले स्वागत सम्मान गरेका थिए ।

बुधबार बिहान मेचीनगरकी उपप्रमुख तथा न्यायिक समिति संयोजक मीना पोखरेल उप्रेतीले शुभकामना सहित बिदाइ गरेकी थिइन् । अध्यायन अवलोकन भ्रमणमा मेचीनगर न्यायिक समिति सदस्य द्वय कुन्दन निरौला र हरिनारायण न्यौपाने, मेचीनगर न्यायिक अधिकृत इन्दिरा खरेल, मेलमिलाप कर्ता सन्तोष न्यौपाने, पासाङ तामाङ, गणेश खरेल, गणेश कार्की, विशाल कार्की, जानुका ओली, हेमा राय, पिताम्बर पौडेललगायत दुई बस गएको थियो ।