संघ \संस्था

मेचीनगरको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ को बजेट सर्वसम्मतले पारित गरेको छ । नगरपालिकाले असार १० गते आइतबार ल्याएको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो ।

आर्थिक बर्षको लागि नगरपालिकाले एक अर्ब ५१ करोड १२ लाख ४० हजार ३६७ रुपैयाँ बजेट विनियोजन गरेको छ । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिदैँ नगरपालिकाले आगामी बर्षको बजेट ल्याएको छ ।

उपप्रमुख मीना पोख्रेल उप्रेतीले प्रस्तुत गरेको बजेटमा चालु खर्चतर्फ ५६ दशमलव २९ प्रतिशत अर्थात ८५ करोड ७ लाख ७ हजार र पुँजीगत खर्चतर्फ ४३ दशमलव ५४ प्रतिशत अर्थात ६५ करोड ८० लाख ३३ हजार ३६७ रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी वित्तीय व्यवस्था तर्फ शुन्य दशमलव १७ प्रतिशत अर्थात २५ लाख रुपैँया बजेट विनियोजन गरेको छ ।

त्यस्तै नगरपालिकाले बजेट आयको स्रोत समेत सार्वजनिक गरेको छ । जसमा राजश्व मार्फत ४० करोड ४३ लाख ५४ हजार ५ सय ५५ आय अनुमान गरिएको छ भने आन्तरीक स्रोत मार्फत १२ करोड ८७ लाख आयको अनुमान गरिएको छ । यसैगरी प्रदेश सरकार मार्फत ३ करोड ९१ लख ६ हजार आय अनुमान गरिएको छ ।

नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बिहीवार दोस्रो नगर सभाको तेस्रो अधिवेशनको अन्तिम दिन समापन शत्रमा बोल्दै जनपक्षीय नीति तथा कार्यक्रम ल्याएको बताए । साथै उनले यसको पुर्णरूपमा कार्यन्वयन हुने बताए ।

समापन सत्रमा मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेती,प्रमुख प्रशासकीय अधिकृत महेश पराजुली, बरिष्ट प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्ती पन्द्रवटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, नगरपालिकाका विभिन्न शाखा प्रमुखलगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।