खेलकुद

शुक्रवारबाट मकवानपुरगढीमा फुटसल कप हुँदै

बाहुण्डाँगी । प्रस्तावित मकवानपुरगढी जेसीजको आयोजनामा शुक्रवारबाट मकवानपुरगढी फुटसल प्रतियोगिता हुँदैछ । जेसीज शाखाहरुकै इतिहासमा पहिलो पटक देशभरका शाखाहरुलाई एकै मैदानमा ल्याएर खेलाएको पहिलो खेल हो भने यो देशकै ठूलो राशीको फुटसल प्रतियोगिता हो ।

स्वास्थ्यका लागि फुटसल, मित्रताका लागि फुटसल भन्ने नाराका साथ प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताका विजेता टिमले नगद १ लाख, ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेता टिमले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाण पत्र पाउने शाखाका अध्यक्ष पुष्पराज पुडासैनीले बताउनु भयो ।

यसैगरी, प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र प्लेयर अफ द टुनामेन्टलाई जनही ५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने अध्यक्ष पुडासैनीले बताउनु भयो । साथै अनुशासित टिमलाई पनि सम्मान गरिनेछ ।
मकवानपुरगढी गाउँपालिका तथा हेटौँडा उपमहानगरपालिकालगायतका संघ सस्थाले प्रतियोगितालाई सहयोग गरेका छन् ।

प्रतियोगितामा ९ लाख भन्दा बढी खर्च हुने अनुमान गरिएको अध्यक्ष पुडासैनीले बताउनु भयो । प्रतियोगिताको अन्तिम तयारी रहेको उहाँले बताउनु भयो ।

मकवानपुरगढीको फुटसल खेल मैदानमा हुने प्रतियोगितामा देशभरका २४ वटा शाखाहरुको सहभागिता रहेको शाखाका महासचिव इरोज न्यौपानेले बताउनु भयो । प्रतियोगितामा सहभागि हुन हेटौँडा आउने क्रम सुरु भएको महासचिव न्यौपानेले बताउनु भयो ।

२०२२ मा स्थापना भएको यो शाखाले स्थापनाको दोस्रो बर्षमै देशकै ठूलो प्रतियोगिताको तयारी गरेको हो ।