अर्थ

बस्नेत दाजुभाईको घरको झ्याल मेचीनगर आल्मुनियम व्यवसायीले लगाइदिने

बाहुण्डाँगी । मेचीनगर ३ दोकानडाँडाका बस्नेत दाजुभाईको घर निर्माणका लागि मेचीनगर आल्मुनियम व्यवसायीले सबै झयाल लगाइदिने भएका छन् । आर्थिक अवस्था कमजोर भएका अपाङ्ग दाजुभाईका लागि उनीहरुले झयाल लगाइदिने भएका हुन् । आफुले व्यवसायबाट कमाएको केही रकम सामाजिक क्षेत्रमा समेत योगदान गर्ने उदेश्यका साथ यो परिवारलाई सहयोग गर्ने बताएका हुन् ।

घर निर्माणका लागि रिङक स्टिल तथा आल्मुनियम हाउसका सञ्चालक पेन्तोङ थामी, जन्ता आल्मुनियमका सञ्चालक लक्षमण आले मगर, इटाभट्टा आल्मुनियम तथा स्टील हाउसका सञ्चालक बिशाल आले मगर, आयुसा ग्रिलका सञ्चालक राजु पराजुली, ललित थामी र शुकविर थामीले सयुक्त रुपमा मिलेर झ्याल लगाउने भएका हुन् । यसको सहजीकरण लक्षमण आलेले गरेका थिए । व्यवसायी बिशाल आले मगरले यो परिवारलाई सहयोग गर्न पाएकोमा आफुलाई आत्मासन्तुष्टि मिलेको बताए । उनीहरुले कबिर ६० हजार बराबरको झ्याल लगाउने भएका हुन् ।

घर निर्माणका लागि देश विदेशमा भएका युवाहरुले आर्थिक सहयोग गरेका छन् । घर निर्माणका लागि करिब ५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । नव ज्योति युवा क्लब, बाहुण्डाँगी जेसीज र दोकानडाँडा युवा परिवारको सहकार्यमा निर्माण हुने घरको भदौ १६ गतेबाट निर्माण कार्य सुरु भएको छ । दशैको फूलपातीका दिन दाजुभाईलाई नयाँ घरमा प्रवेश गराउने योजना रहेको निर्माण समितिका अध्यक्ष सुमन थापाले बताए ।

बर्खा लागेपछि चिउरा खाएर रात काट्छन् बस्नेत दाजुभाई भन्ने समाचार पढेका उनीहरुले गाउँले मिलेर घर बनाउन तयार गरेपछि आफुहरुले पनि यसमा सहकार्य गरेर यो परिवारलाई सहयोग गर्न लागेको लक्षमण आले मगरले बताए ।

शनिवार शिल्यान्यास भएको छ । आर्थिक अवस्था कम्जोर भएका अपाङ्ग तथा असक्त छत्रबहादुर बस्नेत (ठूले) र प्रदिप बस्नेतको घर निर्माणका लागि शिल्यान्यास गरिएको हो । गाउँका जेष्ठ नागरिक ९६ वर्षका पञ्चविर राई र ९२ वर्षिय धनकुमारी रायाले सयुक्त रुपमा शिल्यान्यास गरेका हु्न । जेष्ठ नागरिकको सम्मान युवाको योगदान भन्ने नाराका साथ निर्माण कार्य सुरु गरिएको हो ।
नव ज्योति युवा क्लब, बाहुण्डाँगी जेसीज र दोकानडाँडा युवाल परिवारको सहकार्यमा निर्माण हुन लागेको घरको अनुमानित लागत ५ लाख रहेको निर्माण समितिका कोषाध्यक्ष प्रमिश थापाले बताउनु भयो । देश विदेशमा रहेका विभिन्न युवाहरुको सहयोग तथा स्थानीय दाताहरुको सहयोगमा निर्माण कार्य सुरु गरिएको कोषाध्यक्ष थापाले बताउनु भयो । अहिले सम्म करिब २ लाख ५ हजार रकम र करिब १ लाख ५० हजार बराबरको सामाग्री संकलन भएको उहाँले बताउनु भयो । निर्माण कार्यको प्राविधिक सहयोग मेची अभियान रहेको छ ।

बर्खा लाखेपछि चिउरा खाएर रात काट्छन दाजु भाइ भन्ने समाचार आएपछि युवाहरु मिलेर घर निर्माण गर्न लागेका हुन् । पानी पर्न थालेपछि टिन चुहिने भएर सबै पानी घर भित्र पस्ने गरेकाले उनीहरुलाई खान बस्न समस्य हुँदै आएको थियो । बुबा आमाको पहिले नै निधन भएको र उक्त घरमा दुई दाजु भाई मात्र बस्दै आएका थिए । दुबै दाजुभाई सुष्त छन् । डेढ महिनाभित्रमा घर निर्माण सम्पन्न गर्ने र दशैको फुलपातीका दिन दाजु भाईलाई नयाँ घरमा भित्र्याउने समितिका सचिव देबु बानियाँले बताउनु भयो । घर निर्माणका लागि अहिलेसम्म कसैलाई रकम नमागेको र दाताहरुको स्वतस्फूर्त सहयोग गरिरहनु भएको समेत उहाँले बताउनु भयो ।

समितिका अध्यक्ष सुमन थापाले ७० प्रतिशत रकम र समाग्री संकलन भएको र अपुग रकम विस्तारै संकलन गर्दै जाने बताउनु भयो । शिल्यान्यास कार्यक्रममा गाउँका अग्रज जितबहादुर लावती, हस्तबहादुर खत्री, कमल थापा, नन्दकुमार भारती, ऐनुकुमार भट्टराई, धनबहादुर निरौलालगायत गाउँका व्यक्तिहरुकोे सहभागिता रहेको थियो ।