संघ \संस्था

वडाध्यक्ष कार्कीले बाँडे एकैदिन ८८५ थान सुधारिएको चुलो, स्थानीय दंग

झापा। मेचीनगर नगरपालिका वडा नम्बर -४ ले आज एकैदिन वडावासीलाई ८८५ थान सुधारिएको चुलो वितरण गरेको छ। स्थानीय युवाहरु अमर मेचे र सन्तोष मेचेको पहलमा वातावरण मैत्री संस्था
इपिसी नेपालको सहयोगमा ९०० थान चुलो उपलब्ध गराएको र आज वडाका अध्यक्ष अर्जुनकुमार कार्कीले आफ्ना वडाका बासिन्दालाई सहुलियतपुर्ण सुधारिएको चुलो वितरण गरेका हुन्।

उक्त चुलो प्राप्त गर्नका लागि अनिवार्य नागरिकताको फोटो कपि र फोन नम्बर सहित प्रति व्यक्ति रु. २०० /- अनिवार्य बुझाउनु पर्ने नियम बनाइएको थियोे । बजार मुल्य ५५००/- रुपैयाँ पर्ने उक्त चुलो वडाले आफ्ना बासिन्दालाई सहुलियत दरमा उपलब्ध गराएको हो । सहुलियत दरमा वडाले सुधारिएको चुलो उपलब्ध गराएपछि खुसी हुँदै स्थानीय बासिन्दा कृष्णचन्द्र नेपालले वडा सरकारलाई धन्यवाद दिँदै भने,- “सुधारिएको चुलोले ग्यासको खपत कम गर्ने, खेर गएको दाउराहरु सदुपयोग हुने र सजिलो पनि हुने भयो, हामी एकदमै खुसी छौँ ।”

चुलो वितरण पश्चात्, हरेक घरले अगेना चुलोमा आगो बाल्दा प्लास्टिक जलाउने र त्यसबाट हुने प्रदुषण स्वत: घट्ने, खेर गएका दाउराको सदुपयोग भइ ग्यासको प्रयोग घट्ने फलस्वरूप उपभोक्तालाई वातावरण र आर्थिक फाइदा समेत पुग्ने विश्वास लिएको वडाध्यक्ष अर्जुनकुमार कार्की बताउँछन्,।

चुलो वितरण कार्यक्रममा वडाध्यक्ष कार्कीसंगै वडासदस्यहरु नुरबहादुर कार्की, पवन बराइली, गीता थापा लुङ्गेली र धनमाया कोइरालालगायत थिए ।

चुलो वितरण गर्दै वडाध्यक्ष कार्कीले चुलो उपलब्ध गराउन सहजकर्ताको भुमिका खेलेका वातावरण मैत्री संस्था इपिसी नेपालका झापा जिल्ला संयोजक अमर मेचे र स्थानीय समाजसेवी युवा सन्तोष मेचे, सामान व्यवस्थापनका लागि सहयोग गर्ने स्थानीयहरु लगायतलाई विशेष धन्यवाद व्यक्त गरे।