सहकारीले देशको अर्थतन्त्रमा पुर्याएको योगदानको चर्चा
विर्तामोड । झापाको विर्तामोडमा मुख्यः कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि झापाले शनिबार झापाली दुई पत्रकार, कर्मचारी र बचकर्तागरी कुल ७ जनालाई सम्मानसहित पुरस्कृत गरेको छ ।
विर्तामोडमा सम्पन्न संस्थाको १३ औँ बार्षिक मुल माइन्युट प्रमाणित सभा (साधारणसभा) मा मेरो मेचीनगर डटकमका सम्पादक लक्ष्मी उप्रेती र पूर्व न्यूज डट कमका कार्यकारी सम्पादक युवराज विवशलाई पुरस्कृत तथा सम्मान गरेको हो । पत्रकारिताको माध्यमबाट सहकारीक्षेत्रलाई उजागर गदैं जन समुदाय समक्ष सूचना पुर्याउन खेलेको भूमिकाको उच्च कदर गर्दै उत्कृष्ट पत्रकारकारुपमा पत्रकारद्वय उप्रेती र विवशलाई सम्मान तथा पुरस्कृत गरिएको संस्थाले जनाएको छ ।

पुरस्कारको राशी जनही नगद १०÷१० हजार रुपैयाँसहित सम्मान पत्र रहेको छ । मुल माइन्युट प्रमाणितसभाका प्रमुख अतिथि विर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाई, संस्थाका अध्यक्ष सुवास भट्टराई, संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले नगदसहित सम्मान पत्र प्रदान गर्दै खादा पहिर्याउनु भएको थियो ।
यसैगरी, कार्यक्रममा नगद २ लाख रुपैयाँको स्वेच्छिक अवकास सम्मान कर्मचारी दुर्गा पौडेललाई प्रदान गरियो । उत्कृष्ट सेवाकेन्द्र प्रमुखहरुमा झापा जिल्ला कार्यक्षेत्रबाट अञ्जु प्रधान, इलाम जिल्ला कार्यक्षेत्रबाट तीर्थराज सुवेदी र मोरङ्ग जिल्ला कार्यक्षेत्रबाट मोहन घिमिरेलाई नगद २० हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरियो ।
उत्कृष्ट बचतकर्ता सम्मान शनिश्चरे रोड सेवाकेन्द्रका मित्र घिमिरेलाई नगद ५ हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरियो । सम्मानित तथा पुरस्कृत कर्मचारी र बचतकर्ताहरुलाई प्रमुख अतिथि विर्तामोड नगरपालिका प्रमुख प्रसाई, संस्थाका अध्यक्ष भट्टराई, संस्थाका कार्यकारी प्रमुख बस्नेतले नगदसहित सम्मान पत्र प्रदान गर्दै खादा पहिर्याउनु भएको थियो ।
संस्थाका अध्यक्ष सुवास भट्टराईले कार्यक्रमको अध्यक्षता गदैं सञ्चालक समितिकातर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । ५५ जना शेयर सदस्यहरुको २० लाख ५० हजार शेयर पूँजीबाट विसं २०६७ साल चैत ३ गतेदेखि कारोवार शुरु गरेको यो संस्थाले १३ बर्षको छोटो अवधिमा ५९ हजार २ सय ६३ जना अधिकाँश विपन्न परिवारका शेयर सदस्यहरुलाई प्रत्यक्ष आर्थिक कारोवारमा सहभागी गराई आर्थिक तथा सामाजिक स्तरमा सदसयहरुको पहुँच स्थापित गर्न संस्था सफल भएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
संस्थाको गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा वासलात बृद्घि दर ११ दशमलव ६४ प्रतिशत रहेको अध्यक्ष भट्टराईले प्रस्तुत गरेको प्रतिवेदनमा स्पष्ट छ । संस्थाको कारोेवार तथा शेयर सदस्य सेवालाई मध्यनजर गदैं आर्थिक वर्ष २०७८÷२०७९ मा ४८ वटा सेवाकेन्द्रहरु स्वीकृत प्राप्त भई आएकोमा आर्थिक वर्ष २०७९÷२०८० मा थप २ वटा सेवाकेन्द्रहरु विस्तार गरी जम्मा ५० वटा सेवाकेन्द्र मार्फत सेवा प्रदान गरिदैं आएको प्रतिवेदन मार्फत जनाईएको छ । ८ वटा सेवाकेन्द्र मार्फत विपन्न परिवारका महिलाहरुको आर्थिक विकासलाईलक्षित गदैं लघुवित्त कार्यक्रम समेत सञ्चालनमा ल्याईरहेको अध्यक्ष भट्टराईले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि विर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईले अहिले सहकारीक्षेत्रलाई विभिन्न कोणबाट आक्रमण भईरहेकोभन्दैं चिन्ता व्यक्त गर्नुभयो । उहाँले सहकारीबाट लिईएको कर्जाका बारेमा विभिन्न व्यक्तिहरुले अनर्गल प्रचार गदैं कर्जा तिर्न पर्दैन भन्दैं नानाथरीका प्रचार गरिहेको र त्यसप्रति स्थानीय सरकारको ध्यानाकर्षण भएको स्पष्ट पार्नुभयो ।
सहकारीमा बचत गरेको रकम सर्वसाधारणको भएकाले सरकारी धराशायी भए त्यस्ता बचतकर्ताको रकम समेत जोखिममा पर्ने भएकाले त्यसतर्फ गम्भीर बन्न सहकारी सञ्चालकलाई आग्रह गर्नुभयो । हरेक सहकारी सहकारीका मुल्य मान्यता र सिद्घान्तमा अघि बढ्नु पर्नेमा उहाँको जोड थियो । देशको अर्थतन्त्रमा सहरकारीले पुर्याएको योगदान कसैले भुल्न नहुने उहाँले स्पष्ट पार्नुभयो । संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले स्वागत तथा जोखिम विभागका अधिकृत तृतिय प्रेम (विजय) ले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्ला सहकारी संघका सञ्चालक सदस्य केशव बस्नेत, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरीलगयातले बोल्नुभएको थियो ।
उहाँहरुले सहकारीका शेयर सदस्य र कर्मचारीबीचको सम्बन्ध सधैभरी नङ् र मासु जस्तो हुनुपर्ने बताउँनुभयो । कुनै एकजना व्यक्तिको क्षणभरको नकरात्मक निर्णयले संस्था धराशायी बन्ने भएकाले संस्था हाक्ने जिम्मा कर्मचारीको भएको स्पष्ट पार्नुभयो ।

