झापा । निर्माण सम्पन्न भएको दश वर्ष पछि झापाको मेचीनगर–७ स्थित प्यारीभिट्टा बसपार्क सञ्चालनमा आएको छ । काँकरभिट्टाको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले प्यारीभिट्टामा निर्माण गरिएको बसपार्क यतिका बर्षपछि मंगलबारदेखि सञ्चालनमा आएको हो ।
नेपालको पूर्वीनाका काँकरभिट्टाको बस टर्मिनलको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले प्यारीभिट्टामा बसपार्क निर्माण गरिएको हो । भारत, भुटान र बङ्गलादेशसँगको व्यापारिक नाका काँकरभिट्टा पर्यटक भित्रिने प्रवेशमार्ग हो । यँहाबाट लामो तथा छोटो दूरीका दैनिक सात सयभन्दा बढी बस सञ्चालन हुँदै आइरहेका छन् ।

बजारको बीच भागमा रहेको दुई दशक पुरानो बस टर्मिनल अहिले साँघुरो भइसकेको छ । बसको पार्किङ र यात्रुको व्यवस्थापन सकसपूर्ण हुने गरेको छ । भविष्यको आवश्यकतालाई दृष्टिगत गरी राजमार्ग छेउमा २०७० सालमा प्यारीभिट्टा बसपार्क निर्माण थालिएको थियो ।
झण्डै दुई सय बस एकैपटकमा पार्किङ गर्न सकिने क्षमताको उक्त बसपार्क मेचीनगर नगरपालिकाले विधिवत् रुपमा सञ्चालनमा ल्याएसंगै स्थानीय थोरै भएपनि व्यापार व्यवसाय गर्न सहज हुने बताउँछन् । त्यस्तै यातायत व्यवसायीहरु पनि मेचीनगरले नयाँ बसपार्क सञ्चालनमा ल्याएसंगै सवारी चाप नियन्त्रण तथा व्यवस्थित गन सहज हुने बताउँछन् ।

बसपार्क सञ्चालनमा आउने भएपछि खुशि भएका मेचीनगरबासीको त्यो खुशि लामो समयसम्म सार्थकतामा परिणत हुन सकिरहेको थिएन । निर्माण भएर पनि विभिन्न कारणलेमा बसपार्क सञ्चालनमा नआउनु दुःखदायी थियो । तर, अब बसपार्क सञ्चालनमा आएसंगै त्यस समस्याको अन्त्य भएको व्यवस्थापन समितिको भनाई छ ।
मेचीनगरकै ठूलो विकासे परियोजनाका रूपमा रहेको प्यारीभिट्टा बसपार्क सञ्चालनमा आएपछि अब स्थानीयसंगै यातायात व्यवसायी र सर्वसाधारणलाई सहज भएको छ । नेपालको पुर्वी नाकामा रहेको यस बसपार्क सञ्चालनमा आएसंगै पुर्वबाट नेपालभरी जाने सर्वसाधारणलाई सहज हुनुका साथै नगरपालिकाको स्थानीय आयस्रोत पनि बढ्ने मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी बताउँछन् । उनले बसपार्क व्यवस्थित ढंगले निरन्तर सञ्चालन गर्न नगरपालिका लागि पर्ने बताए ।
मेचीनगर नगरपालिकाले आन्तरिक स्रोतबाट रु तीन करोड ३६ लाख र नगर विकास कोषको रु सात करोड ७७ लाख जुटाएर संयुक्त लगानीमा बसपार्क निर्माण अघि बढाइएको बसपार्क विसं २०६८ असार १९ गते शिलान्यास गरिएको थियो ।
बसपार्क बनाउन स्थानीय शिवकुमार थापा, ध्रुव शिवाकोटीलगायत १२ जना दाताले करोडौँ मूल्य बराबरको पाँच बिघा चार कठ्ठा जग्गा नगरपालिकालाई निःशुल्क प्रदान गरेका थिए ।
बसपार्क शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बुढाथोकीसहित निवर्तमान नगरप्रमुख विमल आचार्य, प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, मेचीनगर ७ का वडाध्य प्रल्हादमणी ओली, नेपाली काँग्रेस मेचीनगर सभापति सुदय पनेरू, नेकपा एमाले मेचीनगर ईन्चार्ज चन्द्र प्रसाईं, माओवादी केन्द्र मेचीनगर अध्यक्ष राजन चिमरिया, रास्वपा मेचीनगर सभापति कमल गौतम , राप्रपा मेचीनगर सचिव विशाल बास्कोटा र जसपा मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ्ग र पुर्वी मेची बस व्यवसायी प्रालिका अध्यक्ष बिष्णुकुमार श्रेष्ठलगायतका अतिथिहरूले बोलेका थिए ।
कार्यक्रममा मेचीनगरका विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, मेचीनगरका विभिन्न शाखा प्रमुख कर्मचारी, संघसंस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिलगायतको आतिथ्य रहेको थियो ।
प्यारीभिट्टा बसपार्क टर्मिनल व्यवस्थापन समिति अध्यक्ष डिल्लीराम घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य सुरेन्द्र बुढाथोकी र सञ्चालन सदस्य सचिव माधव अर्यालले गरेका थिए ।

