झापा । पुर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वरधामा बालाचतुर्दशी पर्वको अवसरमा लाखौं भक्तजनले दर्शन गरेका छन् । आफ्ना दिवङ्गत पितृको सम्झनामा स्वदेश तथा छिमेकी मुलुक भारत तथा भूटानबाटसमेत आएका भक्तजनले शतबीज छरेर अर्जुनधाराधाममा बालाचतुर्दशी पर्व मनाएका छन् ।

आइतबार दीपदान गरी रातभर जाग्राम बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका हुन् ।
बालाचतुर्दशी पर्व मनाउन कोशी प्रदेशका झापा, इलाम, पाचथर, ताप्लेजुङ्ग, मोरङ्ग, सुनसरीलगायत देशका विभिन्न स्थान तथा भारतको सिक्किम, दार्जेलिङ्ग, आसामलगायत भुटानबाट समेत आएका भक्तजनहरुको अर्जुनधारामा बाक्लो उपस्थिति थियो ।
दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्न अर्जुनधरा धाम आउनाले पितृ उद्धार हुने विश्वासका साथ आफुहरु यस जलेश्वरधाममा आएको भक्तजनहरु बताउँछन् ।

पूर्वको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको अर्जुनधारा धाममा आउनाले आफ्नो मनोकामना पुरा हुने धार्मिक विश्वास रहेको छ । सोहि अनुसार आफुहरु टाढाटाढाबाट धाएर समेत अर्जुनधारा धामको दर्शन तथा पूजा आराधान गर्न आउने गरेको उनीहरुको भनाई छ ।
अर्जुनधारा धाममा प्रत्येक बर्ष साउन महिना र बालाचतुर्दशी पर्वको अवसरमा लाखौं भक्तजनहरु दर्शन गर्न आउने गरेका छन् । विगतका बर्षहरु भन्दापनि यस बर्ष बालाचतुर्दशी पर्वको अवसरमा बढी भक्तजनहरु आएको मन्दिर अर्जुनधारा धामका मूल अर्चक आचार्य अग्नि सिग्देलले जानकारी दिए । उनका अनुसार यस बर्ष करिब तीन लाख भक्तजनले अर्जुनधारा जलेश्वर धाममा दर्शन गरेका छन् ।

त्यस्तै बालाचतुर्दशी पर्वको अवसरमा झापामा अर्जुनधारा जलेश्वर धामसंगै सताक्षीधाम, कनकाई माइ, पाउँ पाथीभरा, घैलाडुब्बा शिवालय मन्दिरलगायतमा भक्तजनहरुको घुइचो लागेको थियो ।

