खेलकुद

झापा गोल्डकप : सबैको सहभागिता, अपनत्व र अक्षयकोषका विषयमा छलफल

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको झापा गोल्डकपले झापाका इन्जिनियरहरुसँग छलफल गरेको छ ।

आसन्न छैटौँ संस्करणको झापा गोल्डकपको तयारी तथा हालसम्मको प्रगतिका बारेमा आज बिर्तामोडस्थित गोल्डकपको सचिवालयमा बृहत छलफल भएको हो ।

गोल्डकपको दिगोपना, सबैको सहभागिता तथा अपनत्व, अक्षयकोष लगायतका विषयमा छलफल गरिएको अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । झापा गोल्ड कप यही फागुन १९ गतेदेखि २८ गतेसम्म डोमालाल राजवंशी रंगशालामा हुँदैछ ।

अन्तरक्रिया कार्यक्रममा नेपाल इन्जिनियर एसोसिएसन झापा च्याप्टरका अध्यक्ष इन्द्रमणि घिमिरे, बिर्तामोडका प्रभाष थापा मगर, अजित ढुंगान, साग्रिला लामा, भिजन भण्डारी, विशाल जवेगू, विवेक जवेगू, लक्ष्मी आले मगर लगायतले गोल्ड कप राम्रो र हाम्रो कसरी बनाउन सकिन्छ भनेर लागिपर्न सुझाव दिए । गोल्ड कपलाई स्थायित्व बनाउँदै परिस्कृत गर्न झापाका इन्जिनियरहरुले आयोजक समितिलाई आग्रह गरेका थिए ।

छलफलमा झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले गोल्ड कप झापाको गौरव भएकाले सबैको हातेमालो जरुरी रहेको उल्लेख गरे । उनले सहभागीहरुलाई संस्थाको सदस्य बन्न अनुरोध गरेका थिए ।

अन्तरक्रियामा गोल्ड कपका कार्यसमिति सदस्य यादव पोखरेलले सहभागीहरुलाई स्वागत गरेका थिए भने सदस्य अर्जुन चुडाल र सचिवालय सदस्य केशव भट्टराईले सहजीकरण गरेका थिए ।

त्यस्तै खेलप्रेमी महिलाहरुलाई लक्षित गर्दै झापा गोल्डकप आयोजक समितिले सदस्यता विस्तारको अभियानलाई अघि बढाएको छ । सदस्यता शुल्कमा ५० प्रतिशत छुट गर्दै आयोजक समितिले सदस्य संख्या बढाउने निर्णय गरेको हो ।

झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतका अनुसार महिलाहरुलाई सदस्य बन्न ११ हजार रुपैयाँ निर्धारण गरिएको छ । खेलप्रेमी महिला दिदीबहिनीहरुलाई पनि झापा गोल्ड कपको सदस्य बनाउने उद्देश्यले २१ हजार रुपैयाँ सदस्यता शुल्कमा छुट गर्दै ११ हजार रुपैयाँ मात्रै कायम गरिएको हो ।

छैटौँ संस्करणको तयारीमा रहेको झापा गोल्ड कपको सदस्य संख्या थप गरेर महिला सहभागितालाई प्राथमिकता दिइएको कोषाध्यक्ष केदार गिरीले जानकारी दिए । प्रतियोगिताको छैटौँ संस्करण यही फागुन १९ गतेदेखि २८ गतेसम्म डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुँदैछ ।

यो संस्करणमा कम्तिमा एक सयजना महिला सदस्य संख्या बढाउँदै संस्थालाई थप दर्बिलो बनाउने योजना रहेको अध्यक्ष बस्नेतले बताए ।

यसअघि सदस्यता लिइसकेका सदस्यहरुको नवीकरण कार्य पनि जारी रहेको गोल्ड कपको सचिवालयले जनाएको छ । सबै सदस्यहरुलाई समयमै सदस्यता नवीकरण गर्न आग्रह गरिएको सचिवालय प्रमुख एवम महासचिव गजेन्द्र पौडेलले जानकारी दिए ।