शिक्षा संघ \संस्था

मेचीनगरले दियो गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ ।

नगरपालिकाले सहिद विरेन राजवंशी छात्रवृत्ति कार्यक्रम अन्तर्गत २० लाख रूपैयाँ विनियोजन गरि नगरका ९ वटा सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।

छात्रवृत्ति कार्यक्रम अन्तर्गत मेचीनगर २ काे मेची जनसाधारण मावि (२२ जना) र भानु मावि (३१ जना), मेचीनगर ६ काँकरभिट्टा मावि (१७८ जना), मेचीनगर ८ आदर्श मावि (९८ जना), मेचीनगर ९ कवि शिरोमणि मावि (१० जना), मेचीनगर १० धुलाबारी मावि (१८९ जना), मेचीनगर ११ बलभद्र जनता मावि (३७ जना), मेचीनगर १२ सरस्वती बालकल्याण मावि (४० जना) र मेचीनगर १३ सहिद दशरथ मावि का (५३ जना) गरि जम्मा ६५९ जना विद्यार्थीलाई नगद ३ हजारका दरले छात्रवृत्ति वितरण गरिएको छ ।

आइतबार आदर्श माविको विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्न मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी र नगर शिक्षा अधिकारी होम भण्डारी विद्यालयमै पुगेर विद्यार्थीलाई छात्रवृत्ति वितरण गरे ।

पछिल्लो समय १२ पास गर्ने बित्तिकै विदेश जाने लहर चलेको छ । जसको कारण सीप भएका दक्ष जनशक्ति स्वदेशमा पाउन छाडिएको छ । उनले भने अब स्वदेशमा नै आत्मनिर्भर भएर बस्ने परिस्थिति सृजना गर्न आवश्यक रहेको छ । त्यसका लागि स्थानीय तहको तर्फबाट आफुहरू लागि परिरहेको बताए । तर यसलाई सार्थक बनाउन स्थानीय तहसंगै संघ र प्रदेश पनि लागि पर्नुपर्ने उनले बताए ।

आदर्श मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुर्ण बहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य प्रअ कृष्ण पुरीले गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बुढाथोकी
वशिष्ठ अतिथि नगर शिक्षा अधिकारी भण्डारी, सहायक प्रअ हेमन्त निरौलालगायतका शिक्षक र विद्यार्थीहरूको उपस्थिति रहेको कार्यक्रम सञ्चालन विद्यालयका सहायक प्रअ लम्बोदर पौडेलले गरेका थिए ।