साहित्य

कविता : पहिचान फेर्दै आयो “असार १५”

कार चढेर आयो असार १५
कार्ड भिरेर आयो असार १५ !

खादा मालामा सजिएर
पहिचान फेर्दै आयो असार १५ !

अघिल्लो साल त्यो, यस बर्ष यो नारामा
कृषी क्रान्ति भन्दै आयो असार १५ !

बर्सेनि विभिन्न पहिचान फेर्दै
यस बर्षपनि आयो असार १५ !

को सक्कली को नक्कली
चिन्नै नसकिनेगरि आयो असार १५ !

विभिन्न जातजातिको भेष बदलेर
बहुरुपि भेषमा आयो असार १५ !

पोहोर साल अतिथी अनि यसबर्ष त झन
प्रमुख अतिथीनै बनि आयो असार १५ !

आधुनिकताका चर्का नारालाउँदै
गाउँबस्ती बाट सहरपस्यो असार १५ !

खेतीयोग्य जमिनलाई प्लटिङ गर्दै
आफ्नै मौलिकता भुल्यो असार १५ !

असारे भाखा र बेठीलाई पन्साउदै
पस्चिमा सैलिमा घन्कियो असार १५ !

गमलामा धान रोपेर आयो असार १५
टेबुलमा बसि दहिचिउरामा गयो असार १५ !

पोहोर साल जस्तै
यस बर्षको असार १५ पनि !

कार चढेर आयो असार १५
कार्ड भिरेर आयो असार १५ !

खादा मालामा सजिएर
पहिचान फेर्दै आयो असार १५ !

युवराज रेग्मी
कृषि क्याम्पस मोड गौरादह नगरपालिका २ झापा