झापा । आज राष्ट्रिय धान दिवस । धानको उत्पादनलनई प्रोत्साहन दिन असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा मनाउन थालिए अनुसार आज देशैभरका पालिकाहरुले आ–आफना कृषि शाखा मार्फत दही चिउरा सहित भौगोलिक अवस्था अनुसार धान रोप्न सुरु गरेर वा मैजारो गरेर धान दिवस मनाउँदैछन् ।
राष्ट्रियस्तरमा आज चितवनमा प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा धान दिवस मनाउने कार्यक्रम रहेको छ । प्राचिनकालदेखि नै कृषि प्रधान रहेको हाम्रो मुलुकमा अझै पनि ६५ प्रतिशत जनता कृषि पेशामा निर्भर छन् । यसैपनि कृषि प्रधान र धानलाई उत्तम खाद्यान्न मानिंदै आएको मुलुक नेपालमा धानलाई राष्ट्रिय खाद्यान्न मानिने भएकोले धान दिवसको महत्व रहेको छ ।
पहिला–पहिला आज असार १५,मा दही चिउरा खाने दिन भनेर प्रचलित थियो अझै पनि छ। पहाडी र हिमाली क्षेत्र जहाँ पछि धान पसाउन ढिलो हुन्छ भनेर असार १५ भित्र प्रायले धान रोपिसक्छन् ।
पहाडको पनि बेंशीक्षेत्र बाहेकमा असार १५ भित्र रोपेको धानले राम्रो उत्पादन दिने र कात्तिकमा जाडो सुरु हुनु अगावै धान पसाएर नुही सकेमात्र धानमा भुस कम फल्ने भएकोले पनि असार १५ लाई धान रोपिसक्ने उत्सवको दिन मानेर यस दिन दही चिउरा खाने प्रचलन भएको हो ।
वेंशी र तराई मधेशमा भने असार १५ लाई धान रोप्न सुरु गर्ने दिनको रुपमा लिएर रोपाईंको सुरुवात गर्ने उत्सव मानेर दही चिउरा खाने प्रचलन भएको मानिन्छ ।