स्वास्थ्य

मेचीनगर-६ : क्षयरोगीलाई दैनिक अण्डा खुवाउने

काँकरभिट्टा । मेचीनगर नगरपालिका वडा नं. ६ ले क्षयरोगीलाई दैनिक एउटा अण्डा खुवाउने भएको छ ।
आज पहिलो दिन स्वास्थ्य केन्द्रमा क्षयरोगको औषधी सेवन गर्न आएका एक जना विरामीलाई उसिनेको एउटा अण्डा दिएर कार्यक्रमको सूरुवात गरिएको हो ।

वडा भित्रका सबै क्षयरोगीका लागि दैनिक एउटा अण्डा उसिनेर खुवाउने कार्यक्रम सूरु गरिएको मेचीनगर ६ का वडा अध्यक्ष तामाङले बताए । मेचीनगर ६ को वडा कार्यालयले आर्थिक बर्ष २०८१/०८२ का लागि बार्षिक कार्यक्रममै क्षयरोगीलाई अण्डा खुवाउने कार्यक्रम राखेको छ । सोही कार्यक्रमलाई आर्थिक बर्षको पहिलो दिन आजदेखि नै कार्यान्वयन गरिएको वडा अध्यक्ष तामाङले बताए ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले वडा नं. ६ को यो कार्यक्रम नमूनाका रुपमा लिएर अन्य वडाले पनि यस्तो कार्यक्रम सञ्चालन गर्न उत्प्रेरणा मिल्ने बताए ।

काँकरभिट्टास्थीत स्वास्थ्य केन्द्रमा दैनिक आएर क्षयरोगको औषधी सेवन गर्ने विरामीलाई वडा कार्यालयको तर्फबाट व्यवस्था गरिएको अण्डालाई स्वास्थ्य केन्द्रमा नै उसिनेर विरामीलई दिने व्यवस्थापन गरिएको स्वास्थ्य केन्द्रका प्रमुख लेखनाथ खतिवडाले बताए । ‘क्षयरोगको औषधी दैनिक स्वास्थ्य केन्द्रमा नै आएर खानु पर्छ,’ स्वास्थ्य केन्द्र प्रमुख खतिवडाले भने, ‘तेस्ता विरामीलाई हामी उसिनेको एउटा अण्डा खुवाएर अनि औषधी खुवाउँछौं ।’ अण्डा आफैंमा सम्पूर्ण पौष्टिक खाद्य पदार्थ भएकाले पनि यसले विरामीलाई फाइदा पुर्याउने गर्दछ ।

कार्यक्रममा वडाका जनप्रतिनिधि, नगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटालगायतका स्वास्थ्यकर्मीहरूको उपस्थीत रहेको थियो ।