खेलकुद

मेचीनगरद्वारा खुदुनाबारी गोल्डकप खेल्ने टिमलाई बिदाई

मेचीनगर । झापाको अर्जुनधारा ३ स्थित खुदुनाबारीमा जारी चौथो खुदुनाबारी गोल्डकपमा सहभागी नगरको टिमलाई शुभकामना सहित बिदाई गरिएको छ ।

बिहिवार एक संक्षिप्त कार्यक्रमका बीच नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारी, मेचीनगर खेलकुद विकास समिति संयोजक हृदय राजवंशी, उपाध्यक्ष रविन ओझालगायतले खेलाडीलाई बिदाई गरेका हुन् ।

मेचीनगरले गोल्डकपको आज हुने दोस्रो क्वाटरफाइनल खेलमा इलामको माई नगरपालिकासंग प्रतिष्पर्धा गर्दै छ । आफ्नो टिमलाई उच्च मनोबलका साथ खेल खेल्न हौसला प्रदान गर्न बिदाई गरिएको नगरप्रमुख बुढाथोकीले बताए । उनले मेचीनगर खेलकुदको उर्भर भूमि रहेको बताउँदै खेलकुद क्षेत्रले युवालाई एकताबद्ध बनाएको उनको भनाइ छ । खेलकुदलाई थप व्यवसायीक बनाउन आवश्यक रहेको बताउँदै आफुहरू यसतर्फ पनि लागि परिरहेको उनले बताए ।

अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा जारी अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको मंसिर ५ गते हुने फाइनल खेलको विजेताले १ लाख ११ हजार २ सय ११ र उपविजेताले ५५ हजार ६ सय ५५ रुपैयाँ नगदसहित ट्रफी तथा मेडल पुरस्कार पाउने छ । प्रतियोगिताको बेस्ट स्कोरर, बेष्ट डिफेण्डर, बेष्ट कोच, बेष्ट फरवार्ड, बेष्ट गोलरक्षकले जनही ७ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त रुपमा आयोजना भएको गोल्डकपमा झापाको अर्जुनधारा, बिर्तामोड, भद्रपुर, मेचीनगर, कनकाई, शिवसताक्षी, गौरादह, दमक नगरपालिका, इलामको माई नगरपालिका र आयोजक टिमसहित १० टोलीको सहभागीता रहेको छ ।