मेचीनगर । ग्रामीण अपाङ्गता पुनर्स्थापना समिति मेचीनगरद्वारा अपाङ्गता जनचेतना क्षमता विकास कार्यक्रम तथा १३ औं वार्षिक उत्सव सम्पन्न गरेको छ । संस्थाले आइतबार मेचीनगर १४ स्थित वडा कार्यालय परिसरकाे सभाहलमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका पुर्व सूचना तथा सञ्चार मन्त्री राम कार्की (पार्थ) ले प्रत्येक मानिसको क्षमता फरक फरक हुन सक्छ । त्यसलाई बुझेर क्षमताको आधारमा अवसर प्रदान गर्नु पर्ने बताए । समाजमा अहिले फरक क्षमताका मानिसलाई हेर्ने दृष्टिकोण फरक रहेको बताउँदै उनीहरूलाई विभेद नगरी क्षमताको आधारमा अवसर प्रदान गर्नुपर्ने बताए ।
कार्यक्रममा मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले मेचीनगरले अपांगताको क्षेत्रमा राम्रा राम्रा कार्यक्रमहरू अगाडि बढाइरहेको बताइन् । उनले अब क्षमताको आधारमा उनीहरूले नगरको विभिन्न कार्यक्रम मार्फत अवसर प्राप्त गर्ने बताइन् ।
मेचीनगर १४ का वडाध्यक्ष बाबुलाल सुब्बाले स्थानीय तहको माध्यमबाट अपांगताको क्षेत्रमा उल्लेख्य कार्यहरू भइरहेको बताए । उनले वडा कार्यालयले पनि फरक क्षमता भएकाहरूको लागि आर्थिक लगायत आवश्यक समन्वय गरिरहेको बताए ।
त्यस्तै नेपाल अपाङ्ग महासंघ केन्द्रीय उपाध्यक्ष राम कार्की र नेपाल अपाङ्ग महासंघ कोशी प्रदेश अध्यक्ष नवीनचन्द्र ढुङ्गेलले प्रशिक्षण गरेकाे अभिमुखीकरण कार्यक्रम मेचीनगर १३ र १४ नम्बर वडाका अपाङ्गता भएकाहरूको उल्लेख्य सहभागीता रहेको थियो ।
कार्यक्रममा मेचीनगर महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेल, बालसुबोधनी माविका प्रअ विश्व थापा, करूणा फाउन्डेसन नेपालका मेचीनगर संयोजक पदम बराईली, सामाजिक अभियान्ता गंगा संग्रौला लगायतको आतिथ्यता रहेको थियो ।
ग्रामीण अपाङ्गता पुनर्स्थापना समिति मेचीनगर अध्यक्ष निलादेवी भट्टराई सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य हरि मिश्र र सञ्चालन सचिव रविन्द्रकुमार न्यौपाने गरेका थिए ।

