खेलकुद

मेचीनगर गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटनमा आयोजक र जर्जियन एफसी खेल्ने

मेचीनगर । पाँचौँ मेचीनगर गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । नेपाल, भारत र उज्बेकिस्तानको फुटबल क्लब सहभागिता रहने पाँचौँ मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फागुन २४ गते हुने उद्घाटन खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबीच प्रतिष्पर्धा हुने भएको छ ।

गोल्डकपको दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल फागुन २६ गते उज्बेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले धरान फुटबल क्लब सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । फागुन २७ गते अन्तिम क्वार्टर फाइनलमा सशस्त्र प्रहरीको एपिएफ एफसीले मछिन्द्र फुटबल क्लबसँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ ।

काँकरभिट्टा खेल मैदानमा चैत २ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओलीले जानकारी दिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउनेछ । त्यस्तै, उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउनेछ । प्रत्येक दिनको प्लेयर अफ म्याचले नगद ११ हजार र ट्रफी पाउनेछन् ।

मेचीनगर नगरपालिका संरक्षक रहेको प्रतियोगिताको मुख्य प्रायोजक धुलाबारीको होटल मेची क्राउन रहेको सेन्टरका उपाध्यक्ष अशोक राईले बताए ।