काँकरभिट्टा । मेचीनगरमा आदिवासी जनजाति साँस्कृतिक महोत्सव आयोजना हुने भएको छ । आगामी चैत २७ गतदेखिे वैशाख २ गतेसम्म सञ्चालन हुने साँस्कृतिक महोत्सवको तयारी तिव्र पारिएको सोमबार पत्रकार सम्मेलनमार्फत महोत्सवका निर्देशक समितिका संयोजक केवलराम राईले बताए ।
आदिवासी जनजाति महासंघ मेचीनगर समितिले आयोजना गरेको साँस्कृतिक महोत्सवमा मेचीनगरमा रहेका १८ वटा जातजातिको साँस्कृतिक पहिचानको प्रस्तुती रहने संयोजक राईले जानकारी दिए । ‘मेचीनगरका १८ जातिका लागि १८ वटा स्टल रहनेछन्,’ संयोजक राईले भने, ‘त्यस बाहेक पनि आदिवासी जनजातिसँग सम्बन्धीत विभिन्न स्टलहरु रहन्छ ।’
काँकरभिट्टा खेल मैदानमा हुने महोत्सव तयारीका लागि ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने विभिन्न विषयगत उपसमिति गठन गरिएको महोत्सवको प्रचार समितिका संयोजक ओमप्रकाश खापुङले बताए ।
महोत्सवमा आदिवासी जनजातिको भेषभुषादेखि खाना र अन्य साँस्कृतिक प्रस्तुती रहने बताइएको छ । राष्ट्रिय स्तरमा ख्याति कमाएका विभिन्न कलाकारहरुको समेत प्रस्तुती रहने महोत्सव सञ्चालन गर्न करीब ३५ लाख खर्च लाग्ने अनुमान गरिएको आयोजक समितिले जनाएको छ ।
महोत्सव प्रवेशका लागि दुई सय रुपैयाँको गेटपास लिँदा सबै दिन महोत्सव अवलोकन गर्न पाइने आयोजकले जनाएको छ । गेटपासबाट भाग्यशाली दर्शक छनौट गरी उपहार प्रदान गरिने संयोजक केवलराम राईले बताए । उनका अनुसार स्कुटी, ल्यापटप, वासिङ मेशिन र मोबाईल उपहारका रुपमा प्रदान गरिनेछ ।
महोत्सवको उद्घाटनका लागि प्रमुख अतिथिका रुपमा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर आउने जनाइएको छ । महोत्सवमा तामाङ, मेचे, धिमाल, सुनुवार, गुरुङ, राई, थामी, राजवंशी, लिम्बु, नेवार, माझी, शेर्पा, मगर, भुजेल, थारु, बिर्जा, किसान, मुण्डा लगायतका जातीहरुको सांस्कृतिक परम्परा घर तथा सांस्कृतिक पर्यावरण झल्किने प्रकारका मौलिक खानाहरु पस्किइनेछ भने उनीहरुको आफ्नै भेषभ्ुसा समेतको प्रदर्शनी तथा झाँकी प्रस्तुत हुनेछ ।
प्रत्येक दिन ३ वटा समुदायको विशेष सांस्कृतिक कार्यक्रमहरु रहने जनाइएको छ । आदिवासी जनजाति महासंघ मेचीनगर समितिका अध्यक्ष राम बहादुर वाइवाको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा आदिवासी जनजातिका अग्रत व्यक्तित्वहरु बिना तामाङ, बालाजित राई, दिनेश शाक्य लगायतको उपस्थीति रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण ओमप्रकाश खापुङले गरेका थिए ।

