अर्थ विविध संघ \संस्था

मेचीनगरको पर्यटन क्षेत्र र त्यसको सम्भावना

योगराज आचार्य
मेचीनगर ।
नेपालको सुदूरपूर्वमा रहेको छ, मेचीनगर नगरपालिका । भारतसँगको मुख्य नाका काँकरभिट्टासमेत रहेको यस नगरपालिका सांस्कृतिक विविधता, कृषि, धार्मिक सम्पदा र पर्यटन क्षेत्रको प्रचुर सम्भावनाले भरिपूर्ण छ ।

मेचीनगर नगरपालिकाको कार्यालय, ईटाभट्टा, झापा

नेपालकै ठुलो नगरपालिका मध्येको एक मेचीनगरमा १ लाख ३३ हजार बढी जनसंख्या रहेको छ । पछिल्लो समय सडक सञ्जालको सहज पहुँच, प्रत्येक वडामा प्राथमिक स्वास्थ्य सेवा, शिक्षा, खेलकुद लगायतमा लक्षित वर्गको उल्लेख्य सहभागिता रहँदै आइरहेको छ । त्यस्तै, पर्यटन क्षेत्रमा पनि थुप्रै सम्भावना बोकेको छ । पूर्वी नेपालकै एक महत्वपूर्ण पालिकामा गनिने मेचीनगर पर्यटनको क्षेत्रमा पनि अघि बढ्न सक्ने आधारहरू प्रशस्त रहेका छन् । जस्तै

कृष्णथुम्की मन्दिर, मेचीनगर -१ झापा

कृष्णथुम्की मन्दिर :–
कृष्णथुम्की मन्दिर मेचीनगरको मुख्य धार्मिक तथा पर्यटकीय स्थल मध्ये पर्दछ । मेचीनगर–१ स्थित निन्दा सिरानमा अवस्थित यस कृष्णथुम्की मन्दिर धर्मग्रन्थमा उल्लेख भएअनुसार भगवान कृष्णले स्वयं पाइला राखेको ठाउँ हो । द्वापर युगमा लुवासुर राक्षस र सप्तसुर राजाहरु बीच खटपट भई युद्ध हुँदा भगवान कृष्णले कृष्णथुम्कीमा आई पाइला राख्दै हेरेको किम्बदन्ती छ ।
सोही कारण पूर्वको पवित्र धार्मिक तथा पर्यटकीय स्थलको रुपमा परिचित कृष्णथुम्कीमा भगवान कृष्णको पूजा आराधना गर्न भक्तजनहरु आउने गर्दछन् । यस स्थानमा बिशेषगरी श्रीकृष्ण जन्माष्टमीको अवसरमा नेपाल, भारत र भुटानबाटसमेत पूजा आराधना गर्ने भक्तजनको घुँइचो लाग्ने गर्दछ ।

घैलाडुब्बा पातालगंगा मन्दिर, मेचीनगर ५ र ८ झापा

घैलाडुब्बा पातालगंगा मन्दिर :–
मेचीनगर ५ र ८ मा अवस्थित छ नन्देश्वर शिवालय (घैलाडुब्बा, पातालगंगा) मन्दिर । मेचीनगर–५ मा नन्देश्वर शिवालय घैलाडुब्बा मन्दिर रहेको छ भने, मेचीनगर–८ टोकला बगान परिसरमा रहेको छ पातालगंगा । यस क्षेत्र पर्यटनसँगै धार्मिक इतिहाससँग जोडिएको छ । यहाँ महाभारत कालमा अर्जुनले गौचरणमा जाँदा तिर्खा लागि पानी पिउनका लागि धनुषले जमिनमुनी पातालबाट पानी निकालेर आफ्नो प्यास मेटाएको भन्ने जनमानसमा कथन छ । जहाँ अहिले पनि बाह्रै महिना त्यहाँबाट पानी निस्किरहन्छ ।
यस क्षेत्रमा साउन महिनामा विभिन्न स्थानबाट मानिसहरु बोलबम आउने गर्दछन् । बनभोजको सिजनमा नेपाल तथा भारतबाट समेत युवायुवती यस स्थानमा रमाउन आउने गरेका छन् । यस क्षेत्रमा झापालगायत कोशी प्रदेशका विभिन्न विभिन्न जिल्लाबाट विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकहरु बनभोज खान आउने गर्दछन् । त्यस्तै, महाशिवरात्रीमा तीन दिन भव्य मेला लाग्ने गर्दछ । जहाँ लाख बढी मानिसहरुको सहभागिता रहँदै आएको छ ।

पाउ पाथीभरा माताको मन्दिर, मेचीनगर-१३ झापा

पाउ पाथीभरा मन्दिर :–
पूर्व पश्चिम राजमार्गसँगै मेचीनगर–१३ स्थित चारआलीमा रहेको छ पाउ पाथीभरा मन्दिर । साक्षात देवी पाथीभरा माता ताप्लेजुङको पाउको रुपमा पुजिँदै आएको यस क्षेत्रमा आन्तरिक सँगै बाह्य पर्यटकहरु पनि दर्शन गर्दै घुम्न आउने गर्दछन् । सहज यातायातको पहुँचले गर्दा यस मन्दिरमा शनिबार र मंगलबार पुजा आराधाना गर्ने दर्शनार्थीको भिड थामी नसक्नु हुन्छ । त्यस्तै, अन्य बार पनि ठुलै संख्यामा दर्शनार्थीहरु आउने गरेका छन् ।

मिनी माउन्टेन, मेचीनगर- २ झापा

मिनी माउन्टेन :–
विश्वको शिखर सगरमाथाको झल्को दिने मिनी माउन्टेन मेचीनगर–२ मा पर्दछ । निन्दा खोलासँगै रहेको यस स्थानमा हिमाल जस्तै देखिने कमेरो माटाको ढिस्को र भित्ताहरु छन् । सुन्दर शान्त र हरियाली वातावरणले भरिपूर्ण यस मिनी माउन्टेनमा पछिल्लो समय रमाइलो गर्न जानेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । बिशेषगरी यस क्षेत्रमा बनभोजको सिजनमा देशका विभिन्न स्थानबाट मानिसहरु यहाँ घुम्न आउने गर्दछन् ।

मनसा नागदेवी ४९ धारा तथा हिले सिमसार, मेचीनगर-१ झापा

मनसा नागदेवी ४९ धारा तथा हिले सिमसार क्षेत्र :–
मेचीनगरमा रहेको “मनसा नागदेवी ४९ धारा तथा हिले सिमसार क्षेत्र” धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकसित हुँदै गइरहेको छ । मेचीनगर–१ स्थित देवीगञ्जामा रहेको यस मनसा नागदेवी ४९ धारा तथा हिले सिमसार क्षेत्रको विकास र प्रबद्र्धनमा स्थानीय जुटेसँगै अहिले पूर्वको नयाँ धार्मिक तथा पर्यटकीय स्थलको रूपमा परिचित बन्दै गएको हो ।

पूर्वपश्चिम राजमार्गदेखि करिब १३ किलोमिटर उत्तर मेचीनगरको ग्रामीण भेगमा रहेको मनसा नागदेवीको बासस्थान समेत रहेको यस ऐतिहासिक क्षेत्र धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकसित हुँदै गइरहेको छ । मनसा नागदेवीको बासस्थान धार्मिक आस्ताको केन्द्र भएर पनि विविध कारणले ओझेलमा पर्दै आएको साबिक बाहुनडाँगी गाविस क्षेत्रको यस मनसा नागदेवी ४९ धारा तथा हिले सिमसार क्षेत्रलाई व्यवस्थित बनाउन स्थानीय र सरोकारवालाहरुले पनि चासो दिँदै यसको सम्बद्र्धन र प्रवद्र्धनमा जुट्न थालेसँगै यस क्षेत्रले कोल्टे फेर्दै नयाँ धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा स्थापित बन्दै गइरहेको छ ।

धार्मिक, साँस्कृतिक र प्राकृतिक रमणीय स्थलका रूपमा धनी मेचीनगरमा आन्तरिक तथा बाह्य पर्यटकका लागि कृष्णथुम्की, घैलाडुब्बा पातालगंगा, पाउ पाथीभरा, मिनी माउन्टेन, मनसा नागदेवी ४९ धारासँगै कालिका सिमसार, बाँसबारी सिमसार, निचाझोडा सिमसार, बृन्दा वन, प्रकृति पार्क, देवकोटा पार्क, टोकला र सतिघट्टात बगानलगायतका ठाउँहरू छन् ।

मेचीनगरमा मठ मन्दिर, गुम्बा, विभिन्न जातजातिको मौलिक परम्परा र संस्कृति, कृषि फार्मलगायत थुप्रै सम्भावित गन्तव्यहरू पनि रहेका छन् । त्यस्तै झापामा मात्रै बसोबामस रहेको लोपोन्मुख मेचे समुदाय, पाहान, उराउ, मुण्डा, गनगाई, मारपाचे, किसानलगायत समुदायको कला, संस्कृति र रहनसहनलाई अभियानमार्फत पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । तर, अहिलेसम्म यिनीहरूको प्रचारप्रसार र प्रवद्र्धनमा अभाव देखिँदै आएको छ । यसरी समग्रमा हेर्ने हो भने यस नगर धार्मिक, साँस्कृतिक र प्राकृतिक रूपमा भरिपूर्ण रहेका कारण यसमा रमाउने आन्तरिक तथा बाह्य पर्यटकहरूको उपयुक्त गन्तव्य हुन सक्छ । तर, प्रशस्तै सम्भावना भएर पनि पर्यटन क्षेत्रमा लगानी बढाउन नसक्दा मेचीनगरले यस क्षेत्रबाट पाउन सक्ने आम्दानी, रोजगारी र पहिचान अझै पनि पर्खाइमा मात्रै रहेको छ ।