मेचीनगर । हात्ती प्रभावित क्षेत्र बाहुण्डाँगीका किसानले उत्पादन गरेको गुणस्तरीय चिया अब देशभरका भान्सासम्म पुर्याउने लक्ष्यसहित चिया संसार प्रा.लिले नयाँ अभियान थालेको छ । मेचीनगर–६, बाहुण्डाँगीस्थित उद्योगले ‘जमघट’ ब्रान्ड नाममा उत्पादित तयारी चियाको बजार विस्तारका लागि टिकटक भिडियो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

बुधबार उद्योग परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत अध्यक्ष सचिन निरौलाले प्रतियोगितासम्बन्धी जानकारी दिँदै भने, हात्ती पीडित किसानले चियाको खेतीलाई जीवन निर्वाहको मुख्य माध्यम बनाएका छन्, त्यसैले चियाको बजार विस्तार अत्यन्त जरूरी छ ।
उनका अनुसार भारतले हालै तयारी चियाको मूल्य घटाएपछि नेपाली चिया उद्योग ठूलो संकटमा परेको छ । “नेपालमा वार्षिक २ करोड केजी तयारी चिया उत्पादन हुन्छ तर खपत ५०–६० लाख केजी मात्रै हो,” निरौलाले भने, “बाँकी चिया भारत वा तेस्रो मुलुक जान्छ तर भारतीय बजारको हेराई र ठूला उद्योगको दबाबले हामी पछि परिरहेका छौं ।”
टिकटक भिडियो पठाएर जित्न सकिनेछ नगद पुरस्कार
चिया संसार प्रालिले चियाको प्रचार–प्रसार र युवामाझ आकर्षण बढाउन साउन १ गतेदेखि भदौ १३ गतेसम्म टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा सहभागी हुन ‘जमघट’ चिया लोगो सहितको चिया सम्बन्धी सिर्जनात्मक भिडियो बनाएर ९८१६००८५२१ (वाट्सएप) वा chiyasansar@gmail.com मा पठाउन सकिनेछ ।प्राप्त भिडियोलाई विज्ञ जजले मूल्यांकन गर्नेछन् र भदौ २१ नतिजा सार्वजनिक गरिने जनाइएको छ ।
टिकटक भिडियो प्रतियोगितामा सहभागी भई प्रथम हुनेले नगद रू २१,००० प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुनेले नगद रू ११,००० जित्दा तेस्रो हुनेले नगद रू ७,००० प्राप्त गर्ने अध्यक्ष निरौलाले जानकारी दिए ।
बजार विस्तार र ‘चिया चखाउने अभियान’ सुरु
अध्यक्ष निरौलाका अनुसार टिकटकमार्फत जमघट चिया चिनाएपछि दोस्रो चरणको थप प्रचार अभियान पनि सञ्चालन हुनेछ । “हामी ‘चिया चखाउने अभियान’ सुरु गर्दैछौं,” उनले भने, “यहाँको चिया गुणस्तरीय छ, स्वदेशी उत्पादनलाई विश्वास गरौं र चाखौं ।”
उद्योगले सिटिसी र मसलादार चिया विभिन्न प्याकेजिङमा बजारमा ल्याइरहेको छ । साथै, २ केजीभन्दा बढी चिया किन्दा अनलाइन डेलिभरी निःशुल्क गरिने जानकारी अध्यक्षले दिएका छन् ।
स्थानीय उत्पादन, राष्ट्रिय पहिचान
संचालक शान्तिराम निरौला, समशेर खड्का र रुपकुमार खतिवडालगायतको उपस्थिति रहेको कार्यक्रममा स्थानीय उत्पादनलाई राष्ट्रिय पहिचान बनाउन सकिने विश्वास व्यक्त गरे ।
“बाहुनडाँगीको चिया केवल व्यवसाय नभई यहाँका किसानको जीवनसँग जोडिएको विषय हो,” त्यसैले जमघट चियाले देशभरको भान्सामा स्थान पाओस् भन्ने चाहना अनुरूप अगाडि बढिरहेको बताउँदै यश कार्यमा सबैको साथ सहयोग आवश्यक रहेको अध्यक्ष निरौला बताउँछन् ।

