समाचार

झापा प्रहरीद्वारा फरार कैदी पौडेल पक्राउ

झापा । सुनसरी कारागारबाट केही दिनअघि पर्खाल नाघी फरार भएका एक कैदीलाई प्रहरीले झापामा पक्राउ गर्न सफल भएको छ ।

मिति २०८२ साउन २८ गते कारागारबाट भागेका जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई सजाय भोगिरहेका खोटाङ, दिप्रुङचुचुमा गाउँपालिका–२ निवासी २८ वर्षीय रुपक पौडेललाई झापा प्रहरीले आइतबार बिहान नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको विशेष टोलीले सूचनाको आधारमा खोजतलास गर्दै जाँदा पौडेललाई बिर्तामोड नगरपालिका–१० स्थित विराटपोखरी क्षेत्रमा लुकेर बसिरहेको अवस्थामा मिति २०८२ साउन ३१ गते बिहान करिब ६ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जबरजस्ती करणी कसूरमा दोषी ठहरिएका पौडेललाई सम्मानित जिल्ला अदालत सुनसरीले १३ वर्ष कैद सजाय, ५ लाख रुपैयाँ जरिवाना र ३० हजार रुपैयाँ क्षतिपूर्ति तोकेको थियो । उक्त सजाय भोगिरहेका अवस्थामा उनी कारागारबाट पर्खाल नाघी फरार भएका थिए ।

पक्राउ परेका पौडेललाई आवश्यक थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाउने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।