काठमाडौँ, साउन १३ । जाजरकोटमा विषालु च्याउको तरकारी खाँदा एकै घरका चारजनाको मृत्यु भएको छ । जाजरकोटको कुशे गाउँपालिका ( १ स्याँक्रीका विषालु च्याउको तरकारी खाँदा गम्भीर बिरामी परेका थप ३ जना बालबालिकाको मृत्यु भएको छ । च्याउको तरकारी खाएर बिरामी परेका एकै घरका उनीहरूको सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो ।
टेकबहादुर चलाउनेसहित परिवारले गत ९ साउनमा जंगली च्याउ खाँदा ८ जना बिरामी परेका थिए । कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुता चलाउनेको उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर केएन पौडेलले बताए ।
चलाउनेकी ३ वर्षीया छोरी अञ्जनाको सोमबार गाउँमै मृत्यु भएको थियो । योसँगै च्याउ खाएर मृत्यु हुनेको संख्या चार पुगेको छ । विषालु च्याउ खाएर गम्भीर बिरामी भएका ७ जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि सोमबार नै सुर्खेत लगिएको थियो । बिरामी परेका १ जनाको अवस्था गम्भीर रहेको र ३ जनाको अवस्था सामान्य रहेको डा. पौडेलले बताए ।

