खेलकुद

रियललाई हराउँदै सिटी अन्तिम ८ मा

काठमाडौं, साउन २४ । इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश गरेको छ ।

शुक्रबार राति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडमाथि २–१ गोलको र समग्रमा ४–२ को जित निकाल्दै सिटीले अन्तिम आठमा स्थान बनाएको हो ।

सिटीको मैदान इतिहादमा भएको खेलमा सिटीलाई जिताउन रहीम स्टर्लिङ, ग्राबियल जेससले समान एक–एक गोल गरे । यता, रियलका करिम बेन्जेमाले एक गोल फर्काए ।

खेलको नवौं मिनेटमा रहीम स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । यस्तै खेलको २८औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै पहिलो हाफमा रियललाई बराबरीमा फर्काए । यस्तै खेलको ६८औं मिनेटमा जेससले गोल गर्दै सिटीको जित सुनिश्चत गरे । जितसँगै सिटीले रियलमाथि समग्रमा ४–२ को जित निकाल्दै अन्तिम आठमा स्थान बनायो ।

गत फेब्रुअरीमा रियलको मैदान सान्टियागोमा भएको पहिलो लेगको खेलमा सिटीले २–१ गोलको जित निकालेको थियो ।