काठमार्डौ, साउन ३० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष छलफलमा जुटेका छन्। सवा एघार बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल छलफलमा जुटेका हुन्।
बिहीबार पनि दुई अध्यक्ष ‘वान अन वान’ वार्तामा बसेका थिए। आठ दिनपछि सम्वादमा फर्किएका ओली–दाहाल दुवै सहमति खोज्न सहमत भएपछि फेरि सम्वादमा जुटेका छन्। बिहीबार ओलीसँग चार घण्टा छलफल गरेका दाहालले त्यसपछि आफ्ना समूहका नेताहरुसँग छलफल गरेका थिए।
गएको २० साउनदेखि दुई अध्यक्ष बीचकै सम्वाद रोकिएको थियो। यसपटक दाहालले ओलीलाई सहमतिको प्रस्ताव ल्याउन माग गरेका थिए।
“सहमतिको प्रस्ताव लगभग भइसकेको छ। केही दिनभित्रै सहमति जुट्ने संभावना छ”, ओली निकट एक नेताले भने। उनका अनुसार, दुवै पक्षबीच ‘वीनवीन’को अवस्था हुनेगरी सहमति जुट्ने संभावना छ।
गएको १० असारदेखि शुरु भएको स्थायी कमिटी बैठक दुवै पक्षको अडानका कारण अनिश्चित बन्दै आएको छ। दाहाल समूहले प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजीनामा मागेका छन् भने ओलीले दुवै पद नछोड्ने अडान लिदै आएका छन्।

