
काठमाण्डौ, चैत १५ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बैशाख ५ गते देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको शुक्रबार ( आज) बसेको बोर्ड बैठकले पाँच नम्बर प्रदेशमा हुने प्रतियोगिताको मिति तय गरेको हो ।
सातै वटा प्रदेश बाट छनौट भएका खेलाडी तथा अफिशियलहरु तयारी अवस्थामा रहेको बेला पनि प्रतियोगिता हुने मिति अन्योल हुदा खेलकुदमा लागेकाहरुलाई एउटा नैरस्यता पैदा भएको थियो । प्रतियोगिताको मितिलाई लिएर विभिन्न आशंका सिर्जना भएपछि मन्त्रालयले राखेपको बोर्ड बैठक बोलाएको थियो । यसअघि बसेको कार्यकारी समितिको बैठकले चैत २५ गते प्रतियोगिताको उद्घाटन गर्न प्रस्ताव गरेको थियो । तर पछिल्लो समय राखेप सदस्य सचिव केशवकुमार विष्ट चैत २७ मा उद्घाटन हुने बताएका थिए ।
नेपालगञ्ज रंगशालाको भिआईपी प्याराफिटको निर्माण कार्यसम्पन्न नहुदाँ प्रतियोगिताको मिति अनिश्चित बनेको थियो । तर अहिले भिआईपी प्याराफिटको काम तिव्र गतिमा अघि बढेको छ ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सचिवालयले प्रतियोगिताका केही खेल चैतमै सुरु हुने जानकारी दिएका छन् ।

