राजनीति

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले आज सबै स्थानीय तहमा प्रदर्शन गर्ने

काठमाडौं, माघ ३ । नेपाली कांग्रेसले आज देशभरका सबै स्थानीय तहमा प्रदर्शन गर्दैछ ।

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा प्रदर्शन गर्न लागेको हो । पूर्व निर्धारित कार्यक्रम अनुसार कांग्रेसले प्रदर्शन गर्न लागेको हो ।

सभापति शेरबहादुर देउवाले सरकारको विरोध प्रदर्शनमा सहभागी हुन सबै नेता कार्यकर्तालाई आह्वान गरिसक्नुभएको छ । पुस १९ गते बसेको केन्द्रीय समिति बैठकले विघटनविरुद्ध तीन दिन प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्र, माघ ३ गते ७ सय ५३ स्थानीय तह र माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ । यसअघि कांग्रेसले पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्पति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरे आगामी वैशाख १७ र २७ गतेका लागि चुनावको मिति तोक्नुभएको छ । त्यसपछि कांग्रेसले विघटनको विरोध गर्दै प्रदर्शन गरेको हो ।

विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । कांग्रेस सभापति देउवाले अदालतको फैसला मान्ने बताउदै आउनु भएको छ । विचाराधीन मुद्दामा नबोल्न र विघटन सर्वाेच्चले सदर गरे चुनावका लागि तयार रहन पनि उहाँले कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।