खेलकुद

धरान फुटबल क्लब सेमीफाईनलमा प्रवेश

युवराज आचार्य
मेचीनगर, माघ ५ ।
मेचीनगरको काँकरभिट्टामा जारी स्व. अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिताको सोमबार सम्पन्न अन्तिम क्वाटरफाईनल खेलमा धरान गार्डेन फुटबल क्लब सुनसरी विजयी भएको छ । धरान गार्डेन फुटबल क्लबले रोलिङ क्लब धुलाबारीलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै अन्तिम दुईमा आफ्नो स्थान पक्का गरेको छ ।

प्रतियोगितामा दुबै टिमले आएका अवसरहरु सदुपयोग गर्न सकेनन् । अत्यन्तै प्रतिष्पर्धात्मक भएको खेलमा निर्धारित समय दुवै टिमले गोल गर्न नसके पछि खेल पेनाल्टी सुटआउटमा धकेलीएको थियो । जसमा धरान भाग्यमानी साबित भयो ।

मेचीनगर–६ स्थित तुर्केनी खेल मैदानमा आज भएको प्रतियोगितामा उत्कृष्ट खेल्दै टिमलाई विजयी बनाउने धरान फुटबल क्लबका गोल रक्षक खगेन्द्र भण्डारी म्यान अफ दि म्याच घोषित भए । उनलाई आयोजकका प्रमुख सल्लाहकार राजु गुरुङ्गले नगद सहित ट्रफि प्रदान गरे ।

भोलिको पहिलो सेमीफाईनल खेल काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र शिवसताक्षी धाम फुटबल क्लब बिच दिनको १ः३० बजे हुने आयोजकका सल्लाहकार डिल्लिराम अधिकारीले हाम्रो खबरपाटीलाई जानकारी दिए ।

तुर्केनी फुटबल क्लवको आयोजनामा सञ्चालित प्रतियोगितामा ९ वटा टिमले सहभागिता जनाएका छन् ।प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार नगदसहित ट्रफि पाउने छन् ।