खेलकुद

एफए कपः टोटेनहम विजयी

काठमाडौं, माघ १३ । प्रिमियर लिग क्लब टोटेनहम एफए कप फुटबल प्रतियोगितामा विजयी भएको छ । योसंगै प्रतियोगिताको पाँचौं चरणमा प्रवेश गरेको छ ।

सोमबार राति च्याम्पियनसिप क्लब वाइकम्ब वान्डरसलाई ४-१ गोल अन्तरले पराजित गर्दै टोटेनहम पाँचौं चरणमा पुगेको हो ।

वान्डरसको मैदानमा एक गोलले पछि परेपनि टोटेनहमले पुनरागमन जित निकालेको हो । खेलको २५ औं मिनेटमा फ्रेडले गोल गर्दै वान्डरसलाई अग्रता दिलाएका थिए । तर, खेलको ४५ औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ८६ औं मिनेटमा ह्यारी विंक्सले गोल गर्दै टोटेनहमलाई २-१ को अग्रता दिलाए । खेलको ८७ औं मिनेटमा टानगाइ एनडोम्बेले गोल गर्दै टोटेनहमलाई ३-१ को अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा एनडोम्बेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-१ को सहज जित दिलाए ।

अब टोटेनहमले पाँचौ चरणमा एभर्टनसँग खेल्नेछ ।