काठमाडौं, माघ १९ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गको जलहरि सुनको बनाउने भएको छ । पशुपतिनाथ मूल मन्दिरअघिको बसाहा र छानामा पनि सुनको जलप लगाइने कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिनुभयो । यसका लागि १४२ किलोग्राम सुन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । जलहरिका लागिमात्र १०८ केजी सुन लाग्ने अनुमान गरिएको पनि उहाँले बताउनुभयो ।
“कोषको वार्षिकोत्सवसमेत रहेको पुण्य तिथि अक्षय तृतीयासम्म सुनको जलहरि र जलप लगाइसक्ने गरी प्रक्रिया शुरु भएको छ, यसका लागि करीब रु एक अर्ब बजेट लाग्ने अनुमान गरिएको छ, रु ६५ करोड कोषसँग छ, रु ३० करोड सरकारले दिने भएको छ”, सदस्यसचिव ढकालले बताउनुभयो । सुनको जलहरि र जलप लगाएका बसाहा एवं छाना ३०० वर्षसम्म परिवर्तन गर्नु नपर्ने कोषले जनाएको छ । सुनको जलहरि र जलपका लागि टेन्डर प्रक्रिया शुरु भइसकेको छ ।
सुनको काम गर्ने कालीगढ कोषमै राखेर काम गरिनेछ । १०८ ब्राह्मणबाट धार्मिक विधि पूरा गरेर काम अघि बढाइनेछ । अहिलेसम्म पशुपतिनाथ मन्दिरमा चाँदीको जलहरि छ । चाँदीको जलहरि जीर्ण भएकाले शिवलिङ्गको फेदसम्म भगवान् अर्पण गरिएको पञ्चामृत, दूध, जललगायत पुग्दा बिग्रने भएकाले पनि पवित्र धातु सुन प्रयोग गर्ने निर्णय गरिएको कोषले जनाएको छ ।

