खेलकुद

पीएसजी पराजित

काठमाडौं, माघ १९ । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।

आइतबार राति भएको खेलमा पीएसजी लोरिएन्टसँग ३-२ गोल अन्तरले पराजित भएको हो । नेयमारले दुई गोल गरेको खेलमा पीएसजी पराजित भएको हो ।

खेलको ३६ औं मिनेटमा लाउरेन्टले गोल गर्दै लोरिएन्टलाई अग्रता दिलाएका थिए । खेलको ४५ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ५८ औं मिनेटमा नेयमारले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजी २-१ ले अघि रह्यो । तर, खेलको ८० औं मिनेटमा विस्साले गोल गर्दै घरेलु टोलीलाई २-२ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको इन्जुरी समयमा टेरिम मोफीले गोल गर्दै लोरिएन्टलाई ३-२ को जित दिलाए। जितसंगै रेलिगेसन क्षेत्रको लोरिएन्टले १८ अंक जोडेको छ । लोरिएन्ट १८ औं स्थानमा रहेको छ ।

यो हारपछि पीएसजी भने शीर्ष स्थानमा उक्लन असफल भएको छ । पीएसजी ४५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।