खेलकुद

म्यानचेस्टर सिटी र एभर्टन एफए कपको क्वारटरफाइनलमा

काठमाडौं, माघ २९ । स्वान्सीलाई हराउँदै म्यानचेस्टर सिटी र टोटनह्यामलाई पराजित गरी एभर्टनले इंग्लिस एफए कपको क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

गएराति भएको पाँचौं चरणको खेलमा सिटीले स्वान्सीलाई उसकै मैदानमा ३–१ गोलले हरायो । सिटीकालागि केल वाल्कर, रहिम स्टर्लिङ र गाव्रियल जेससले गोल गरेका हुन् । स्वान्सीका लागि डेब्यू खेल खेलेका मोर्गन विट्टाकरले सान्त्वना गोल फर्काए ।

प्रिमियर लिगमा पनि शीर्ष स्थानमा रहेको सिटीले पछिल्ला १५ खेलमा लगातार जित निकालेको छ ।

यता टोटनह्यामलाई हराउन एभर्टनलाई निकै नै कठिन भयो । गुडिसन पार्कमा अतिरिक्त समयमा गोल गरेपछि एभर्टनले खेल जितेको हो ।

निर्धारित समयको खेल ४–४ गोलको बराबरी भएको थियो । अतिरिक्त समयको सातौं मिनेटमा घरेलु टोलीका लागि बर्नार्डले गोल गरेपछि टोटनह्यामले फर्काउन सकेन ।
त्यसअघि एभर्टनका लागि क्याल्भर्ट लेविनले ३६, रिचर्डलिसनले ३८ र ६८ तथा जिल्फी सिगर्डसनले ४३ औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।

यता डेभिन्सन सान्चेजले तेस्रो मिनेटमै गोल गरेपछि टोटनह्यामले अग्रता बनाएको थियो । पहिलो हाफको इन्जूरी समयमा लामेलाले गोल गरेका थिए । सान्चेजले नै ५७ औं र ह्यारी केनले ८३ औं मिनेटमा गोल गरेपछि खेल बराबरी भएको हो ।