संघ \संस्था

व्यासनगर जेसीजद्धारा दमौलीमा कलात्मक धारा निर्माण सम्पन्न, राष्टिय अध्यक्ष खनालद्धारा अवलोकन

बाहुण्डाँगी । व्यासनगर जेसीजको लगानीमा दमौली अस्पताल जाने चोकमा जेसिआई धारा निर्माण कार्य सम्पन्न भएको छ । दमौलीमा सार्वजनिक धारा नहुँदा पैदलयात्रीलाई पानी पिउन समस्या सास्ती खेप्नु परेपछि व्यासनगर जेसीजले धारा निर्माण गरी आज सम्पन्न गरेको हो ।


निर्माण कार्य सम्पन्न् भएसँगै नेपाल जेसीजका राष्टिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालले अवालोकन गर्नु भएको छ । अनुगमनपछि राष्टिय अध्यक्ष खनालले मानवताको सेवामा कटिबद्ध रहेको यस संस्थामार्फत निर्माण भएको यस धाराले यस क्षेत्रका हजारौँ नागरिकलाई प्यास मेट्ने माध्यम बनेको बताउँदै व्यासनगर जेसीजलाई धन्यवाद दिनु भयो । उहाँले आगामी दिनमा समेत सामाजिक क्षेत्रमा यसरी नै लाग्न आग्रह गर्नु भयो ।
जेसिआई पूर्व योजना अनुरुप खानेपानीको धारा निर्माण गरिएको व्यासनगर जेसिआईका अध्यक्ष लक्ष्मीभक्त खनालले जानकारी दिनुभयो । योजना गरिएको भन्दा बढी खर्च हुने देखिएको छ । उहाँले भन्नुभयो ‘करिब रु तीन लाख लाग्ने अनुमान गरिएको छ ।’

शुरुमा दुई लाख लाग्ला भन्ने अनुमान सहित निर्माण कार्य थालिएपनि अहिले काम गर्दै जाँदा खर्च बढ्न गएको उहाँले बताउनुभयो ।
जेसिआई समाजमा गएर सामाजिक कार्यमा उत्तरदायित्व बहन गर्ने संस्था हो । उहाँले भन्नुभयो ‘दमौली बजार क्षेत्रमा एउटा पनि सार्वजनिक धारा नदेखेपछि धारा निर्माण गर्ने निर्णय अनुरुप काम थालिएको हो ।’

भक्तपुरबाट कलात्मक किसिमको धारा ल्याउँदा मात्रै पैतालिस हजार खर्च भएको छ । धारा निर्माणमा कसैको सहयोग नरहेको र सबै जेसिआईका पदाधिकारीहरुको सहयोगमा निर्माण गर्न लागिएको उहाँले बताउनुभयो ।

दमौली अस्पताल नजिक रहेको सार्वजनिक शौचालय माथि दुई वटा ट्याङ्की राखिएको छ । उहाँले भन्नुभयो ‘एउटा टयाङ्कीमा पानी जम्मा हुन्छ र अर्को ट्याङकीमा पानी फिल्टर भएर धारामा पानी जाने व्यवस्था मिलाइएको छ ।’

अस्पतालमा जाने सर्वसाधारण तथा पैदलयात्रीलाई शुद्ध खानेपानी खुवाउने उद्देश्यले सार्वजनिकस्थलमा पानीको धारा निर्माण गरिएको जेसिआई व्यासनगरले जनाएको छ । अध्यक्ष खनालका अनुसार निर्माण कार्य सम्पन्न भएसँगै छिट्टै सञ्चालनमा ल्याइनेछ ।