काठमाडौं, फागुन ३ । इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा लाजियोमाथि ३–१ गोलको जित निकाल्दै इन्टर शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा इन्टरलाई जिताउन रोमेलु लुकाकुले दुई गोल गर्दा लाउटारो मार्टिनेजले एक गोल गरे । लाजियोका सर्जेज मिलिनकोभिक–सेभिकले एक गोल गरे ।
खेलको २२औँ मिनेटमा इन्टरले पेनाल्टीको मौका पाएको थियो, जसमा लुकाकुले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।
४५औँ मिनेटमा लुकाकुले गोल गर्दै पहिलो हाफभरि इन्टरलाई २–० गोलको अग्रता दिलाए । खेलको ६१औँ मिनेटमा सेभिकले गोल गर्दै लाजियोलाई बराबरीमा फर्काउने प्रयास गरे । तर, ६४औँ मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई ३–१ गोलको जित सुनिश्चित गराए ।
जितसँगै इन्टरले २२ खेलमा ५० अङ्क जोड्यो । उसले एसी मिलानले एक अङ्कले पछि पार्दै शीर्ष स्थान कब्जा गरेको हो । समान खेल खेलेको मिलान ४९ अङ्कसहित दोस्रो स्थानमा छ ।
लाजियो भने ४० अङ्कसहित सातौँ स्थानमा छ ।

