कला राजनीति

पल शाह र अरुणकुमार प्रधानबीच मिलापत्र

विराटनगर, फागुन १५ । नायक पल शाह र चलचित्रकर्मी महासङ्घ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानबीच मिलापत्र भएको छ । शुक्रबार साँझ इलाका प्रहरी कार्यालय धरानमा प्रधान र शाहबीच मिलापत्र भएको हो ।

बुधबार होटल ज्वाईँ खानामा पल शाहले दुर्व्यवहार गरेको र उनका सहयोगीले हातपात गरेको भन्दै प्रधानले बिहीबार इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका थिए ।

उजुरी परेपछि प्रहरीले दुवै पक्षलाई छलफलका लागि शुक्रबार दिउँसो २ बजे बोलाएको थियो । तर शाह भने शुक्रबार बेलुका मात्रै प्रहरी कार्यालय हाजिर भए । प्रहरी कार्यालयमा छलफपछि दुई जनाबीच मिलापत्र भएको हो ।

पल शाह र प्रधानले आफ्नो कमजोरी स्वीकार गरेपछि मिलापत्र भएको प्रहरी स्रोतले जनाएको छ । । प्रधानमाथि हातपात गर्ने कृष्णप्रसाद जोशीले माफि मागेका छन् ।

शाह म्युजिक भिडियोको सुटिङका लागि फागुन १२ गते धरान आएका थिए । बुधबार होटल ज्वाईँ खानामा उनले प्रधानमाथि दुर्व्यवहार गरेका थिए । शाहका सहयोगी कृष्णप्रसाद जोशीले प्रधानमाथि आक्रमण गरेका थिए ।