शिक्षा

शिक्षक महासंघले बुझायो मेचीनगरलाई ज्ञापन पत्र

मेचीनगर, चैत ४ । शिक्षकहरुका विभिन्न मागहरुसहित शिक्षक महासंघ मेचीनगरले मेचीनगर नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।

बुधवार मेचीनगर नगरपालिकाको कार्यालयमा शिक्षक महासंघ मेचीनगरका अध्यक्ष केशव पौडेलको नेतृत्वमा पुगेको शिक्षकहरुको टोलीले उक्त ज्ञापन पत्र बुझाएको हो ।

नगरको शिक्षा ऐनको खारेज, शिक्षाको बजेट कम्तिमा १५ प्रतिशत हुनु पर्ने, विद्यालयमा कार्यारत बालविकास शिक्षक र कर्मचारीको सेवा सुविधा नेपाल सरकारको श्रमिकलाई दिने न्यूनतम पारिश्रमिक दिनु पर्ने, एक वार्ड एक नमुना विद्यालयको अवधारणलाई तत्काल अघि सारी बजेट विनियोजन गर्नु पर्ने, विषयगत शिक्षकहरुको अभावका कारण नियूक्ती गरिएका शिक्षकहरुको तलब सम्बन्धित तह अनुसारको हुनु पर्ने, कोरोनाका कारण हालै निधन भएका शिक्षक डालिम रोशन काश्यपको परिवारलाई विशेष राहत प्याकेज हुनु, बालवाला शिक्षकको निधन भएमा एकदिनको शोक विदा नगरपालिकाले दिनु पर्ने, शिक्षासँग सम्बन्धित कार्यक्रम अघि बढाउँदा सम्बन्धित सरोकारवालासँग छलफल गर्नु पर्नेलगायतका मागसहित ज्ञापनपत्र बुझाइएको थियो ।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख विमल अाचार्यले भने नगरपालिकाले शिक्षाको क्षेत्रमा भौतिक विकास देखि शैक्षिक गुणस्तरका क्षेत्रमा निरन्तरत काम गरिरहेको बताए । साथै यसलाई निरन्तरता दिदै बाँकी रहेका कार्यहरू पनि अागामी दिनमा सम्बोधन गर्ने जिकिर गरे ।

उक्त ज्ञापन पत्र शिक्षक महासंघ मेचीनगरका अध्यक्ष केशव पौडेलले वाचन गरेका थिए ।

कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपमेयर मिना उप्रेती, प्रशासकिय अधिकृत खेम ओझा, शिक्षा अधिकारी होम भण्डारी, शिक्षक महासंघ झापाका निवर्तमान अध्यक्ष तेजप्रसाद चौलागाई, नेपाल राष्ट्रिय शिक्षक संगठन झापाका अध्यक्ष कृष्णप्रसाद अधिकारी, नेपाल शिक्षक संघका नगर अध्यक्ष होम ढकाल, विद्यालय कर्मचारीका नगर अध्यक्ष हरि कट्टेल, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन नगरसचिव अग्नि घिमिरेले गरेका थिए ।