काठमाडौं, चैत ५ । इङ्ग्लिस क्लब चेल्सीले युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाएको छ ।
बुधबार राति भएको अन्तिम १६ अन्तर्गत स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँगको दोस्रो लेगको खेलमा २–० गोलको र समग्रमा ३–० को जितसहित चेल्सी क्वार्टरफाइनलमा पुगेको हो ।
यसअघि पहिलो लेगको खेलमा चेल्सीले एथ्लेटिकोलाई उसैको मैदानमा १–० गोलले हराएको थियो । गए राति स्टाम्फोर्ड ब्रिजमा चेल्सीलाई जिताउन हाकिम जियच र इमर्सन पाल्मेरीले समान एक–एक गोल गरे ।
खेलको ३४औँ मिनेटमा जियचले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । ८१औँ मिनेटमा एथ्लेटिकोका स्टेफान सेभिकले रातो कार्ड पाएपछि पाहुना टोली दस खेलाडीमा सीमित बनेको थियो ।
खेलको इन्ज्युरी समयमा पाल्मेरीले गोल गर्दै चेल्सीलाई जिताए ।
गए रातिकै अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिखले इटालियन क्लब अटलान्टालाई २–१ गोलले र समग्रमा ६–२ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनायो । यससँगै क्वार्टरफाइनल पुग्ने आठै टोलीको टुङ्गो लागेको छ ।
मङ्गलबार राति भएको खेलमा इटालियन क्लब अटलान्टालाई हराउँदै स्पेनको रियल मड्रिड र जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाचलाई जित्दै इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी क्वार्टरफाइनल प्रवेश गरे ।
त्यसअघि पोर्चुगलको क्लब पोर्टोले इटालियन क्लब युभेन्टसलाई हराउँदै अन्तिम आठमा स्थान पक्का गर्दा जर्मन क्लब बोरुसिया डर्टमुण्डले स्पेनको सेभिल्लालाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ ।
यस्तै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले स्पेनको बार्सिलोनालाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो भने इङ्ग्लिस क्लब लिभरपुलले जर्मनीको आरबी लेइपिजलाई हराएर अन्तिम आठमा स्थान पक्का गरेको हो ।

