खेलकुद

म्यानचेस्टर फाइनलमा प्रवेश

काठमाडौं, बैशाख २४ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा इटालियन क्लब रोमासँग ३–२ ले पराजित भएपनि समग्रमा ८–५ को जित निकाल्दै युनाइटेडले फाइनलमा स्थान पक्का गरेको हो ।

युनाइटेडले पहिलो लेगमा ६–२ को फराकिलो जित निकालेको थियो । दोस्रो लेगमा सफलता हात पारेपनि पहिलो लेगमा भोगेको फराकिलो हारका कारण रोमा फाइनलमा पुग्न असमर्थ बन्यो ।

घरेलु मैदानमा बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा रोमाको जितमा इडेन जेको र ब्रायन क्रिसटान्टेले गोल गर्दा एक गोल उपहार पाएको थियो । युनाइटेडका लागि दुवै गोल इडिन्सन काभानीले गरेका थिए ।

रोमामा भएको खेलमा युनाइटेडले खेलको ३९औं मिनेटमा इडिन्सन काभानीको गोलबाट पहिलो हाफमा १–० को अग्रता लिएका थियो । उनले एलेक्स टेलासको पासमा गोल गरेका थिए । ५७औं मिनेटमा इडेन जेकोले पेड्रो रोड्रिग्वेजको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसको तीन मिनेटपछि नै ६०औं मिनेटमा ब्रायन क्रिसटान्टेले लोरेन्जो पेलिग्रिनीको पासमा गोल गर्दै रोमालाई २–१ को अग्रता दिलाए । ६८औं मिनेटमा काभानीले ब्रुनो फर्नान्डेसको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गर्दै खेललाई २–२ गोलको अवस्थामा ल्याए ।

८३औं मिनेटमा एलेक्स टेलासले आत्मघाती गोल गरेपछि रोमाले खेल ३–२ ले जित्न सफल भयो । अब रोमाले उपाधिका लागि २७ मेमा स्पेनिस क्लब भिल्लारियलसँग प्रतिस्पर्धा गर्नेछ । भिल्लारियलले इंग्लिस क्लब आर्सनलाई हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ ।