खेलकुद

पिएसजीले सुरुआती अग्रता जोगाउन नसक्दा अङ्क बाँड्यो

काठमाडौं, बैशाख २७ । फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)ले रेन्नेजसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । आइतबार राति रेन्नेसको मैदानमा पिएसजीका लागि नेयमारले तथा रेन्नेजका लागि सर्हौ गुइरेसीले एक–एक गोल गरे ।

खेलमा पिएसजीले सुरुआती अग्रता बनाएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा नेयमारले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई सुरुआती अग्रता दिलाए । ७०औँ मिनेटमा गुइरेसीले गोल गरेपछि घरेलु टोली बराबरीमा फर्कियो ।

खेलको ८७औँ मिनेटमा प्रिसनेल किम्पेम्बेले रातो कार्ड खाँदै मैदान छोडेपछि पिएसजी दस खेलाडीमा सीमित बनेको थियो । र, बाँकी समय गोल नहुँदा पिएसजी अङ्क बाँड्न बाध्य भयो ।

बराबरीसँगै दोस्रो स्थानको पिएसजीले ३६ खेलमा ७६ अङ्क जोडेको छ । रेन्नेस भने ५५ अङ्कका साथ सातौँ स्थानमा छ । अब, लिगमा दुई खेल मात्र बाँकी रहेको छ ।