काठमाडौं, बैशाख २७ । इङ्ग्लिस प्रिमियर लिगमा आर्सनलले वेस्ट ब्रोममाथि ३–१ गोलको जित निकालेको छ । आइतबार राति इमिरेट्समा आर्सनललाई जिताउन इमाइल स्मिथ रोवे, निकोलास पेपे र विलियनले समान एक गोल गरे । वेस्ट ब्रोमका माथिअस पेरेइराले एक गोल फर्काए ।
खेलको २९औँ मिनेटमा रोवेले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । ३५औँ मिनेटमा पेपेले गोल गरेपछि आर्सनलले आफ्नो अग्रता दोब्बर बनायो ।
६७औँ मिनेटमा पेरेइराले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर ९०औँ मिनेटमा विलियनले गोल गरेपछि आर्सनल ३–० गोलले विजयी भयो ।
जितसँगै नवौँ स्थानको आर्सनलले ३५ खेलमा ५२ अङ्क जोडेको छ । वेस्ट ब्रोम भने २६ अङ्कका साथ रेलिगेसन जोनमा छ ।

