देबु बानियाँ ।
त पत्रकारका हो भाइ लेख । राजनीति गर्नका लागि आफ्नो व्यवसाय हुनुपर्छ । राजनीतिलाई पेशा बनाउन हुँदैन । राजनीति भनेको सेवा मात्र हो । धुलावारीको हाटमा ग्राहकलाई चप्पल र जुत्ताको मोल गर्दै मलाई काम लगाउँदै हुन्थे चन्दन दाई । म खिस्स हाँस्दै भन्थे दाई राजनीतिले परिवार पाल्दैन र ? अनि सहज उत्तर आउँथ्यो । पाल्ने भए किन यो गर्मीमा एक जोर चप्पल बेच्नु परथ्यो र ।
स्थानीय निर्वाचन भन्दा अघि हरेक सोमवार र शुक्रवार चप्पलको मोलमा जोड घटाउ गर्न धुलावारीको बजारमा चक्रो घाम होस या मुसलधारे पानी केही प्रभाह नगरी एउटा त्रिपालमुनी आफ्नो व्यवसाय चलाउँने एउटा सामान्य व्यवसायी । सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल । त्यसताका मेचे समुदायको अध्यक्ष समेत रहनु भएको थियो । हरेक कार्यक्रममा मलाई प्रचारप्रसारको काम सबै तेरो जिम्मा है भाई भनेर अह्राउनु हुन्थ्यो ।
२०७४ को निर्वाचनमा कांग्रेसले अनेकन विवादका विच अन्तत चन्दन दाईलाई टिकट दियो । मेचे समुदायमा जन्मेको एउटा भूमिपुत्र जसको ७ पुस्ते चारतारे झण्डा ओड्यो । उसैलाई टिकट दिनु पार्टीले निकै ठूलो मेहेनत गर्नु परर्याे । टिकट पाएपछि चुनावी अभियानमा सबैलाई समट्दै अघि बढे । एमालेका उम्मेदवारलाई ७ मतको झिनो मतान्तरले पराजित गर्दै मेचीनगर ७ को वडा अध्यक्ष बन्न सफल भए । त्यसताका म आफु पनि चन्दन दाईको जितका लागि अभियानमा सामेल भएको थिए । निकै जोश जाँगरले भरिएको केही गर्नु पर्छ भन्ने लक्ष्य बोेकेको एउटा युवाले मत माग्दै जाँदा आम मतदाताले निकै विश्वास गरेर जिताए । उनीसँगै पार्टीबाट तिलक खड्काले पनि सदस्यमा मत जितेका थिए । खड्काले भने एमाले उम्मेदवारसँग बराबरी भएपछि गोलाप्रथामा जितेका थिए । चन्दन दाई र तिलक खड्का एकअर्काका परिपुरक भएर जनताका काममा लागे । तिलक खड्का मेरो सहोदर ससुरा बुबा । त्यहि भएर पनि चन्दन दाइसँगको आत्मियता अझ प्रगाढ हुने अवसर मिलेको थियो । तिलक र चन्दन पर्यायवाची झै थिए वडामा ।
एक दिन दाई धुलावारीको एउटा होटलमा वियर खादै हुनुहुदो रहेछ । म अचानक पुगे । दाई अलिक अफ्ठयारो मान्नु भयो । तर, त्यहि पुरानो बानी फेरी दोहोर्उनु भयो । त पत्रकार हो लेख एउटा वडा अध्यक्षले रक्सि खायो भनेर । मैले सहज जबाफ दिए । दाई तपाई सामाजिक रुपमा वडा अध्यक्ष भए पनि तपाईको व्यक्तिगत जीवन पनि छ । यो अहिले तपाईका नितान्त व्यक्तिगत जीवन हो । यसमा तपाईका आफ्नै अधिकार छ । यसकारण कुनै अफ्यारो नमान्नुहोस । बोरु म पनि एउटा रेडबुल खान सगाउछु । दाईले हास्दै आफ्नो छेउमा बसेको साथीलाई भन्नु भयो । देख्यो पत्रकार त सबै मेरा प्रिय छन् । मैले भने, हो दाई तपाई मान्छे नै सबैलाई प्रिय बनाउनु हुन्छ ।
चन्दन दाई एक आध्यात्मिक तथा धार्मिक व्यक्ति समेत हुनुहुन्थ्यो । मेचेको छोरो भएर पनि शुद्ध साहाकारी । कुनै मासुमंस चल्दैनथ्यो । अब जाँड रक्सि भनेको त यो समुदायको जन्मदा पनि र मर्दा पनि कुलमा चलाउनु पर्छ । त्यो सामान्य हो । तर धार्मिक रुपमा अलग पहिचान थियो दाइसँग ।
वडामा हुने हरेक कार्यक्रममा सहभागि हुने अवसर पाएको थिए । दाइले गरेका राम्रा कामको प्रशंसा र कमजोरीहरुलाई सुधार गर्न सुझाव दिन्थे । दाईले पनि मलार्य हरसमय सम्झिनु हुन्थ्यो । कहिले भाइ भनेर त कहिले ज्वाई भनेर (पछि जोडिएको साइनो) ।
अब धुलावारीको बजारमा होस या वडा कार्यालयमा त्यो अनुहार कहिलै नदेखिने गरी विलिन भयो । अब वडा नम्बर ७ को कार्यालयको अध्यक्षको कुर्सी रित्तो भएको छ । सिंगो वडाले आफ्नो वडा अध्यक्ष गुमाएको छ । परिवारले सर्वस्व गुमाएको छ । मेचे समुदायले अभिभावक गुमाएको छ । पाटीले एउटा योद्धालाई अनि यो समाजले एउटा असल सेवकलाई गुमाउन पुग्यौ । तपाई जहाँ भए पनि तपाईको आत्माले शान्ति पाओस दाई । तपाईको योगदानलाई यो समाजले सधै सम्झिरहनेछ ।
अलविदा चन्दन दाई

