स्वास्थ्य

नेपाल जेसीजद्धारा हेटौँडा अस्पताललाई १ सय १ थान अक्सिनज सिलिण्डर प्रदान

देबु बानियाँ । मानवताको सेवालाई मुल मन्त्र मान्ने संस्था नेपाल जेसीजले हेटौंडा अस्पताललाई १ सय १ थान अक्सिजन सिलिण्डर सहयोग स्वरुप उपलब्ध गराएको छ ।
हेटौंडा अस्पतालमा बुधबार आयोजित एक कार्यक्रममा नेपाल जेसीजका राष्ट्रीय अध्यक्ष अरुणेश्वर खनालले हेटौंडा अस्पतालको संचालक सस्था मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईलाई ति सिलिण्डर हस्तान्तरण गर्नुभएको हो ।


“महामारीका बेलामा आफ्नो दावित्व सम्झेर हामीले हेटौडा अस्पताललाई सहयोग गरेका हौं , हामी मानवताको सेवालाई सर्वोत्तम कार्य मान्छौं , सोही अनुसार सहयोग हस्तान्तरण गरिएको हो ।” राष्ट्रीय अध्यक्ष खनालले भन्नुभयो । खनालले आगामी दिनमा देशका अन्य भागमा पनि क्रमैसंग सहयोग उपलब्ध गराईने बताउनुभयो । खनालले आफुहरुले उपलब्ध गराएको अक्सिजन सिलिण्डरले हेटौंडा अस्पतालाई उपचारमा सहयोग पुग्ने बिश्वास आफुहरुले लिएको बताउनुभयो ।


रजिष्टार प्रसाईले जेसीजले कोभिड महामारीका बेलामा गरेको सहयोग अत्यन्तै महत्वपुर्ण भएको बताउनुभयो । जेसीज मानवतावादी सस्था भएको भन्दै उहाँले नेपाल जेसीजलाई धन्यवाद प्रकट गर्नुभयो । ति सिलण्डिरले बिरामीको ज्यान बचाउन महत्वपुर्ण सघाउ हुने उहाको भनाई थियो ।


सो समारोहमा डा.रामचन्द्र सापकोटा सहित उहाँको टिम, नेपाल जेसीजका राष्ट्रीय कार्यकारिणी उपाध्यक्ष सिनेटर अरुणकुमार दाहाल , राष्ट्रिय तालिम आयुक्त मनिष श्रेष्ठ , जेसीज भिलेज कोअर्डीनेटर रश्मी बस्नेत, हेटौंडा जेसीजका अध्यक्ष लिसेन बस्नेत , हेटौडा लेडी जेसीजका अध्यक्ष प्रतिमा श्रेष्ठ , बसामाडी जेसीजका अध्यक्ष गौतम केसी , बस्तीपुर जेसीजका अध्यक्ष राजेश भेटवाल, बसमाडी जेसीजका पुर्व अध्यक्ष सरोज अधिकारी , बिरगंज जेसीजका पुर्व अध्यक्ष बद्री बहादुर अधिकारी लगायतको सहभागिता रहेको थियो । सो कार्यक्रम नेपाल जेसीजका राष्ट्रीय कानुनी सल्लाहाकार गोकुल सापकोटाले संचालन गर्नुभएको थियो ।

साथै राष्टिय अध्यक्ष खनालले हेल्प डेस्क मकवानपुर टिमलाई मकवानपुर हेल्प डेस्कले संचालन गरेको हेटौंडा अस्पताल परिसर भित्रको कोभिड हेल्प डेस्क भित्र भौतिक रुपमा उपस्थिति भई यस हेल्प डेस्कलाई ३० कार्टुन पानी , २ बोत्तल सेनेटाईजर ,१२ प्याकेट सर्जिकल मास्क सहयोग गर्नुभएको थियो ।